कालापानी क्षेत्र नेपालको भूभाग होः नेपाल सरकार
काठमाडौं । सरकारले कालापानी क्षेत्र नेपालकै भू–भाग भएको स्पष्ट गरेको छ । भारत सरकारले हालै प्रकाशन गरेको नयाँ राजनीतिक नक्शालाई लिएर नेपालको कालापानी क्षेत्र सम्बन्धमा प्रकाशित विभिन्न समाचार एवं टिप्पणीप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको जनाउँदै परराष्ट्र मन्त्रालयले कालापानी क्षेत्र नेपालको भूभाग भएको स्पष्ट गरेको हो ।
परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ती जारी गरी नेपाल र भारत दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरू दुवै पक्षको आपसी सहमतिमा टुङ्ग्याउनुपर्ने र एकपक्षीय ढङ्गबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने जनाएको छ ।
नेपाल र भारतका परराष्ट्रमन्त्रि स्तरीय संयुक्त आयोगको बैठकबाट दुई देशबीचका समाधान हुन बाँकी सीमासम्बन्धी समस्याको समाधानका लागि प्राविधिकहरूको सल्लाहमा दुवै देशका परराष्ट्र सचिवले काम गर्ने गरी जिम्मेवारी दिइएको जनाएको छ ।
नेपालको अन्तरराष्ट्रिय सिमाना रक्षाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको र दुई मित्र राष्ट्रबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज एवम् तथ्य प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा सरकार दृढ रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्