तपाईँ सुन्दै हुनुहुन्छः

वडा अध्यक्षले कर्मचारी कुटेको विरोधमा कलैया उपमहानगरपालिका ठप्प

बीरगंज –बाराको कलैया उपमहानगरपालिकाका कर्मचारी आन्दोलित भएका छन् । कर्मचारीहरुले आजदेखि कार्यालयको कामकाज ठप्प पारेका छन् । कलैया वडा नम्बर ४ का वडाध्यक्ष जटाशंकर सहनीले प्रमुख प्रशासकीय अधिकृत हरि नारायण बेलबासेलगायत कर्मचारीलाई हातपात गरेको विरोधमा वडा अध्यक्षलाई कारबाहीको माग गर्दै कर्मचारीहरु कामकाज ठप्प पार्दै आन्दोलनमा उत्रिएका हुन ।

कर्मचारीहरुको आन्दोलनका कारण उपमहानगरपालिकाको कार्यालयसँगै वडा कार्यालय, स्वास्थ्य चौकी र सामुदायिक विद्यालयसमेत बन्द भएका छन् । सबै सामुदायिक विद्यालय, स्वास्थ्य संस्था, उपमहानगरपालिकाको कार्यालय बन्द हुँदा नगरबासी भने मर्कामा परेका छन् । कर्मचारीहरुले काम काज ठप्प पारेपछि कलैया बजारको फोहोरसमेत उठन सकेको छैन ।

गएको शुक्रबार वडाध्यक्ष सहनीले उप–महानगरपालिकाको योजना शाखामा वडा कार्यालयबाट आएको योजना किन हटाएको भन्दै आफूलाई गालीगलौज गर्नुको साथै ढोका भाँचेको र टेबल उठाएर आक्रमण गरेको प्रमुख प्रशासकीय अधिकृत बेल्वासेले बताउनुभयो ।

वडाध्यक्ष सहनीले भने आफूले वडाको योजना किन हटाएको भन्ने विषयमा प्रमुख प्रशासकीय अधिकृतसँग सामान्य विवाद हुँदा टेबल ठोकाठोक मात्रै गरेको तर हातपात भने नगरेको बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button