अनुदान पाएपछि उखु खेतीको तीन सय हेक्टर क्षेत्रफल थपियो

कञ्चनपुर । नगदे बालीका रूपमा रहेको उखु खेतीको कञ्चनपुरमा क्षेत्र विस्तार गरिएको छ । अधिक उखु खेती हुने महाकाली, बेलौरी र बेलडाँडीमा उखु खेतीको क्षेत्र विस्तारको कार्य गरिएको हो । किसानलाई उखु खेती विस्तारका लागि कृषि ज्ञान केन्द्र कञ्चनपुरले बीउमा ८० लाख रकम अनुदानका रूपमा उपलब्ध गराइएको छ । एक सय २५ जना उखु खेतीमा संलग्न किसानलाई बीउमा अनुदान रकम उपलब्ध गराएका कृषि ज्ञान केन्द्र कञ्चनपुरका कार्यालय प्रमुख रामचन्द्र भट्टले बताउनु भएको छ । अनुदान पाएपछि उखु खेतीको तीन सय हेक्टर क्षेत्रफल थपिएको छ ।
औद्योगिक बालीका रूपमा रहेको उखुको क्षेत्र विस्तार सँगै क्षेत्रफल बढेर ७ हजार चार सय पुगेको छ । आव ०७५/७६ मा उखु खेतीको क्षेत्रफल पाँच हजार छ सय रहेको थियो । जसको उत्पादन दुई लाख ४८ हजार चार सय मेट्रिक रहेको थियो । आव ०७६/७७ मा उत्पादन बढेर तीन लाख २४ हजार मेट्रिक टन पुगेको छ । उखु खेती गर्ने किसानलाई कृषि औजार र उपकरण अनुदानमा उपलब्ध गराउनुका साथै सँगै खेती गर्ने नयाँ तरिकाहरू सिकाउन थालिए पछि प्रति वर्ष उखुको उत्पादन बढ्दै गएको छ ।
किसानले हाल परम्परागत हलोको प्रयोग गरी उखु लगाउने कार्यलाई भने छाडदै गएका छन् । ट्रेन्च र चिप कटर विधिको प्रयोग गरी उखु रोप्दै आएका छन् । उखु बाली सँगै किसानले अन्तर बालिका रूपमा तोरी, आलु, लसुन, मुसुरो, मटर र धनियाँ खेती गरी अतिरिक्त आम्दानी समेत गर्दै आएका छन् । उखु खेतीलाई प्रोत्साहित गर्नका लागि किसानलाई अनुदान रकम सँगै खेती गर्ने तौरतरिका र उन्नत जातका बीउ लगाउनका लागि कार्यक्रम सञ्चालन गरिएका छन् ।
बर्षातको समय डुबानमा पर्ने क्षेत्रका किसानहरूलाई समेत उखु खेती गर्नका लागि अनुदान रकम उपलब्ध गराइँदै आएको छ । डुबानका कारण कृषि उत्पादन नहुने खेतमा उखु खेती हुन थालेपछि किसानको आम्दानी बढेको छ ।
सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कैलाली र कञ्चनपुरमा उखु खेती विस्तारका लागि आव ०७५÷७६ मा रु एक करोड २५ लाख रकम अनुदान प्रदान गरेको थियो । जस बाट उखु खेतीको छ सय विघा जग्गा क्षेत्रफल थपिएको थियो ।
मुख्यमन्त्री एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम अन्तर्गत उखु खेती गर्ने बेलडाँडीका किसानलाई रु ५० लाखको बजेटमा कृषि उपकरण, औजार, बीउ विजन र नयाँ प्रविधि उपलब्ध गराउने कार्य समेत गरिएको छ । नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरले मर्सिकोरको सहायतामा सञ्चालन गरिएको एमरेड परियोजना अन्तर्गत समेत उखु खेती गर्ने किसानलाई अनुदान रकम सँगै प्रोत्साहित गर्ने कार्य हुँदै आएका छन् ।
नदीका बगरमा रेडक्रसको सहायतामा उखु खेतीलाई बढावा दिइँदै आएको छ । समूह मार्फत किसानले नदीका बगरमा उखु खेती गरी जीविकोपार्जन गर्दै आएका छन् । उखु खेती हुन थालेपछि मजदुरीका लागि भारत लगायतका क्षेत्रमा जाने युवाहरूले गाउँमै रोजगारी समेत पाएका छन् । उखु खेती गरिन थालेपछि मजदुरी गर्न जाने युवाहरू स्वरोजगार भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्