फेवा किङ्स कपमा गण्डकी प्रदेश कोशीसँग पराजित
पोखरा । पोखरामा जारी फेवा किङ्स कपमा गण्डकीको अपराजित यात्रामा ब्रेक लागेको छ ।

युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा पोखरामा जारी फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा गण्डकी प्रदेश भलिबल सङ्घको अपराजित यात्रालाई कोशी प्रदेश भलिबल सङ्घले ब्रेक लगाउँदै पराजित गरेको हो ।
पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा शनिबार भएको दोस्रो खेलमा गण्डकीलाई ३–२ को सेटमा पराजित गर्दै कोशी प्रदेश भलिबल सङ्घले आफ्नो पहिलो जीत हात पार्न सफल भएको हो । कोशीले गण्डकीलाई १७–२५, २५–१५, २०–२५, २५–२३ र १५–११ ले पराजित गर्याे । सो खेलबाट कोशी प्रदेशका विष्णु बस्नेत म्यान अफ द म्याच घोषित हुनुभयो ।
कोशीले यसअघि तीन वटा खेलमा हार बेहोरिसकेको छ भने, गण्डकी प्रदेशले तीन खेल जितिसकेको छ । फेवा मल्टिप्रोडक्ट पोखराको मुख्य प्रायोजनमा बुधबारदेखि सुरु भएको प्रतियोगिता मंसिर १५ गतेसम्म चल्नेछ ।
यसैबिच शनिबार भएको पहिलो खेलमा एपीएफ क्लबले तेस्रो जीत निकालेको छ । एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गर्दै एपीएफले तेस्रो जीत निकालेको हो । एपीएफले आर्मीलाई २२–२५, २५–१५, २३–२५, २५–११ र १५–११ ले पराजित गरेको प्रतियोगिता संयोजक थमन गुरुङले जनाउनुभयो ।
राउण्ड रोबिन लिगका आधारमा सञ्चालन भएको प्रतियोगितामा आयोजक किङ्स क्लब पोखरा, विभागीय नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश भलिबल संघ र गण्डकी प्रदेश भलिबल संघ गरी कुल ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको विजेता टोलीलाई नगद ४ लाख रुपैयाँ प्रदान गरिने क्लबका अध्यक्ष अशोक गुरुङले जानकारी दिए । उनका अनुसार उपविजेताले २ लाख ५० हजार रुपैयाँ, तेस्रो हुने टोलीले १ लाख रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताबाट सर्वोत्कृष्ट हुने खेलाडीलाई २० हजार रुपैयाँ तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्