सामुदायिक विद्यालयमा पठनपाठन नरोक्न ‘शिक्षक बैङ्क’ सञ्चालनमा

सल्यान । सामुदायिक विद्यालयमा शिक्षक अभावका कारण विद्यार्थीको पठनपाठन प्रभावित हुन नदिन सल्यानको शारदा नगरपालिकाले ‘शिक्षक बैङ्क’ सञ्चालनमा ल्याएको छ ।
विद्यालयमा शिक्षक बिदामा बस्दा वा दरबन्दी रिक्त हुँदा तत्काल योग्य शिक्षक उपलब्ध गराउने उद्देश्यले शिक्षक बैङ्कको अवधारणा कार्यान्वयनमा ल्याएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा शिक्षकको अभाव भई नियमित पठनपाठनमा समस्या हुन नदिन विशेष गरी शिक्षकहरू विभिन्न कारणले बिदामा बस्दा, सुत्केरी बिदा, किरिया बिदा वा अन्य छोटो अवधिको बिदामा रहँदा तथा शिक्षक दरबन्दी रिक्त हुँदा विद्यार्थीको पढाइ प्रभावित हुने समस्या समाधान गर्न शिक्षक बैङ्क सञ्चालन गरिएको मेयर प्रकाश भण्डारीले बताउनु भयो ।
शिक्षक बैङ्कमार्फत विद्यालयमा शिक्षक आवश्यक परेको अवस्थामा तत्काल योग्य र दक्ष शिक्षक उपलब्ध गराइने मेयर भण्डारीको भनाई छ । उहाँले भन्नु भयो ‘यसले शिक्षक अभावका कारण कक्षा सञ्चालन प्रभावित हुने अवस्थाको अन्त्य गर्नुका साथै नयाँ शिक्षक नियुक्तिका लागि विज्ञापन र छनोट प्रक्रिया पूरा गर्न लाग्ने लामो समयसम्म विद्यार्थीको पठनपाठन नियमित राख्न सहयोग पुग्ने छ ।’
शारदा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सङ्गीता बुढाका अनुसार शिक्षक बैङ्कलाई पारदर्शी निष्पक्ष र योग्यतामा आधारित प्रणालीका रूपमा अघि बढाइएको छ । यसले विद्यालयमा आवश्यकता अनुसार शिक्षक व्यवस्थापन गर्न सहज हुने उहाँले बताउनु भयो ।
शिक्षक नियुक्ति तथा व्यवस्थापन प्रक्रियालाई व्यवस्थित बनाउँदै शैक्षिक गुणस्तर सुधार गर्नु शिक्षक बैङ्कको अर्को उद्देश्य रहेको बुढाको भनाई छ । योग्यताका आधारमा शिक्षक छनोट गरी जिम्मेवारी प्रदान गर्ने प्रणालीले सामुदायिक विद्यालयमा पठनपाठनको निरन्तरता कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको बुढाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्