तपाईँ सुन्दै हुनुहुन्छः

सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छ: महामन्त्री पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं. ६ ले आज यहाँ आयोजना गरेको ‘पदस्थापन, बधाई तथा शुभकामना’ कार्यक्रममा बोल्नुहुँदै उहाँले लोकतन्त्रको स्थायित्व र विकासका लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।

पार्टीको वडा र क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको उल्लेख गर्नुहुँदै महामन्त्री पौडेलले जिल्ला तथा प्रदेश अधिवेशन पनि छिट्टै हुने जानकारी दिनुभयो । उहाँले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न निकायमा पराजित भएका उम्मेदवारलाई आगामी दिनमा निर्वाचित हुने गरी सक्रियतापूर्वक काम गर्न आग्रह गर्नुभयो । “जित्नेले हार्नेलाई सँगै लिएर अगाडि बढ्नुपर्छ, जनताको मुद्दामा कांग्रेस सधैँ अग्रपङ्क्तिमा रहनुपर्छ,” उहाँले भन्नुभयो ।

नेपाली कांग्रेस राजनीतिको विश्वविद्यालय र बलिदान तथा समर्पणको इतिहास बोकेको पार्टी भएकाले यो शासन गर्न नभई जनताको सेवा गर्न बनेको महामन्त्री पौडेलको भनाइ थियो । बहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्थाको जग कांग्रेसकै विचारले बसालेको दाबी गर्दै उहाँले हिजोका आलोचक तथा फरक धारका शक्तिहरूले समेत आज सोही व्यवस्थालाई स्वीकार गरेको बताउनुभयो ।

सो अवसरमा उहाँले स्थानीय तहका नेता तथा कार्यकर्तालाई नागरिकको मन जित्ने गरी काम गर्न, सार्वजनिक जग्गाको संरक्षण गर्न, सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र न्यायको पक्षमा उभिन निर्देशन दिनुभयो ।

कार्यक्रममा कांग्रेस काठमाडौँ क्षेत्र नं. ६ का सभापति ख्यामराज तिवारीले पार्टीका सबै तहका संरचना अब स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनुपर्ने बताउनुभयो । जनतासँग प्रत्यक्ष जोडिएर निर्वाचन लक्षित सङ्गठन परिचालन गर्नुपर्नेमा उहाँको जोड थियो ।

सोही समारोहमा काठमाडौँ क्षेत्र नं. ६ बाट पार्टीको केन्द्रीय समितिमा निर्वाचित हरिप्रभा खड्गी श्रेष्ठ, इन्जिनियर लक्ष्मण केसी, श्यामकृष्ण खड्गी र अभिषेक आत्रेयलाई सम्मान गरिएको थियो । यस्तै, काठमाडौँ महानगरका सभापति इन्जिनियर सुशन वैद्य, तारकेश्वर नगरपालिकाका सभापति श्यामकृष्ण सापकोटा, टोखा नगरपालिकाका सभापति उत्तम अधिकारी, प्रदेशसभा ‘क’ र ‘ख’ का सभापति तथा १५ वटै वडाका सभापतिहरूलाई समेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button