उपेन्द्र पौड्याललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’, बैंकर्स सङ्घको अध्यक्षमा सुरेन्द्रराज रेग्मी
काठमाडौँ। नेपाल बैंकर्स सङ्घले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र दिगो विकासमा विशिष्ट योगदान पुर्याउनुभएका सङ्घका पूर्वअध्यक्ष उपेन्द्र पौड्याललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ ।

सङ्घको ४०औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले पौड्याललाई सम्मानपत्र प्रदान गर्नुभएको हो ।
सङ्घले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पौड्यालले नेपाल बैंकर्स सङ्घको अध्यक्ष, नबिल बैङ्कको अध्यक्ष, एनएमबी बैङ्कको प्रमुख कार्यकारी अधिकृत तथा ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जिएबिभी) एसिया प्यासिफिकको क्षेत्रीय प्रतिनिधिका रूपमा रहेर बैंकिङ क्षेत्रमा योगदान पुर्याउनुभएको छ ।
सन् १९८० को दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सुरु भएको उदारीकरण प्रक्रियासँगै पौड्यालको व्यावसायिक यात्रा अघि बढेको थियो। परम्परागत बैंकिङ अभ्यासलाई आधुनिक, प्रतिस्पर्धात्मक र प्रविधिमैत्री प्रणालीमा रूपान्तरण गर्न उहाँले अनुभव, दक्षता र नेतृत्वमार्फत महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको सङ्घले जनाएको छ ।
सम्मानपछि पौड्यालले आफ्नो चार दशक लामो बैंकिङ यात्राको उपलब्धि व्यक्तिगत नभई सहकर्मी, नियामक, ग्राहक, सेयरधनी र परिवारको सामूहिक योगदानको परिणाम भएको बताउनुभयो ।
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताउनुभयो। सेयर बजार, विदेशी विनिमय, सुधार तथा बैंकिङ सुपरिवेक्षणका क्षेत्रमा क्रमिक सुधार अघि बढाइने उहाँले जानकारी दिनुभयो ।
विदेशी मुद्रा सञ्चिति र बैंकिङ प्रणालीमा तरलता बढेको उल्लेख गर्दै गभर्नर पौडेलले आगामी वर्ष पनि वित्तीय स्थिरता कायम राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले बैङ्कहरूलाई मौद्रिक नीतिअनुसार वित्तीय उत्पादन ल्याउन, कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार गर्न र उद्यमशीलतालाई प्रोत्साहन गर्न आग्रह गर्नुभयो ।
बैङ्कहरूको लगानी ठूला व्यावसायिक घरानामा मात्र केन्द्रित नभई साना व्यवसायी तथा सर्वसाधारणसम्म पुग्नुपर्नेमा जोड दिँदै उहाँले आकारमा ठूलो मात्र नभई गुणस्तर र सुशासनका दृष्टिले पनि सक्षम बैङ्क निर्माण गर्नुपर्ने बताउनुभयो ।
यसैबीच, सङ्घको ४०औँ वार्षिक साधारणसभाले ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई नयाँ अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । उहाँ यसअघि सङ्घको उपाध्यक्ष हुनुहुन्थ्यो ।
साधारणसभाले कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई उपाध्यक्षमा निर्वाचित गरेको छ ।
निवर्तमान अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा सरोकारवाला पक्षप्रति कृतज्ञता ज्ञापन गर्नुभयो ।
नवनिर्वाचित अध्यक्ष रेग्मीले बैंकिङ क्षेत्रप्रतिको जनविश्वास अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार, वित्तीय स्थिरता र डिजिटल बैङ्किङलाई प्राथमिकता दिँदै सबै सरोकारवालासँग संवाद र सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्