दशौँ राष्ट्रिय खेलकुद: पुरुष फुटबलमा एपीएफ सेमिफाइनलमा प्रवेश, सुदूरपश्चिम बाहिरियो
मुगु। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्। शनिबार बिहान कर्णाली प्रदेश रंगशालामा भएको खेलमा दुवै टोलीले समान २–२ गोल गरेर अंक बाँडे। शनिबार भएको आफ्नो दोस्रो खेल जित्नैपर्ने दबाबमा रहेको सुदूरपश्चिम बराबरीसँगै लिग चरणबाट बाहिरिएको हो।

खेलको सातौं मिनेटमै सुदूरपश्चिमका श्याम वादीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, एपीएफका गणेश पुलामीले १६ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। खेलको २६ औं मिनेटमा एपीएफका अनिश क्षेत्रीले गोल गरेपछि एपीएफले २–१ को अग्रता बनायो।
पहिलो हाफमा एक गोलले पछि परेको सुदूरपश्चिमले दोस्रो हाफमा पुनरागमन गर्दै खेलको ७२ औं मिनेटमा सन्दीप सिंहको गोलमार्फत खेललाई २–२ को बराबरीमा पुर्यायो। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको म्याच कमिसनर वीरेन्द्र पाण्डेले जानकारी दिए।
म्याच कमिसनर पाण्डेका अनुसार खेलमा दुवै टोलीका एक–एक खेलाडीले पहेँलो कार्ड पाए। एपीएफका सुमन श्रेष्ठले ६० औं मिनेटमा र सुदूरपश्चिमका विष्णु चौधरीले ८९ औं मिनेटमा पहेँलो कार्ड पाएका थिए।
प्रतियोगितामा दुई खेल खेलेको एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ भने समान खेल खेलेको सुदूरपश्चिम प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ। अघिल्लो खेलमा सुदूरपश्चिम मधेश प्रदेशसँग पराजित भएको थियो।








प्रतिक्रिया राख्नुहोस्