तपाईँ सुन्दै हुनुहुन्छः

मंसिर १३ गतेदेखि सुदूरपश्चिम रोयल्सको ट्रफी टुर, कहाँ–कहिले ?

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले आफ्नो ट्रफी टुर कार्यक्रम सार्वजनिक गरेको छ । मंसिर १३ देखि २० गतेसम्म सञ्चालन हुने टुर अन्तर्गत टोलीको उपाधि ट्रफी सुदूरपश्चिमका नौ जिल्लामा पुर्‍याइनेछ ।

सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले समर्थकसँग गरेको वाचाअनुसार ट्रफीलाई प्रदेशका नौ जिल्लामा पुर्‍याउन लागिएको बताए । यसमार्फत उपाधि जितको खुसी समर्थक र स्थानीय समुदायसँग बाँड्ने रोयल्सको योजना छ ।

ट्रफी टुर मंसिर १३ गते अछाम र बाजुराबाट सुरु हुनेछ । बिहान ८:३० बजे बैजनाथ मन्दिरमा ट्रफी प्रदर्शन गरिनेछ । त्यसपछि बिहान ९:३० देखि ११:३० बजेसम्म बैजनाथ मन्दिरबाट साँफेबगरसम्म र्‍याली हुनेछ । दिउँसो ४ देखि ५ बजेसम्म बाजुराको मार्तडीमा र्‍याली आयोजना हुनेछ ।

मंसिर १४ गते डोटी र डडेल्धुरामा कार्यक्रम हुनेछ । बिहान ९ बजे शैलेश्वरी मन्दिरमा ट्रफी पुर्‍याइनेछ भने १० बजेदेखि १२ बजेसम्म शैलेश्वरी मन्दिरबाट दीपायल बजारसम्म र्‍याली हुनेछ । दिउँसो ४ देखि ६ बजेसम्म डडेल्धुरा बजारमा र्‍याली र साँझ ६:३० बजे उग्रतारा मन्दिरमा पूजा गरिनेछ ।

मंसिर १५ गते बैतडी र दार्चुलामा कार्यक्रम हुनेछ । बिहान ८:३० बजे निङ्गलाशैनी मन्दिरमा ट्रफी प्रदर्शन गरिनेछ भने ९:३० देखि ११:३० बजेसम्म गोठलापानीमा र्‍याली हुनेछ । मंसिर १६ गते दार्चुलाको मालिकार्जुन मन्दिरमा बिहान ८:३० बजे ट्रफी पुर्‍याइनेछ । त्यसपछि ९:३० देखि ११:३० बजेसम्म खलङ्गा बजारमा र्‍याली हुनेछ ।

मंसिर १७ गते बझाङको चैनपुर बजारमा बिहान ८:३० देखि १०:३० बजेसम्म र्‍याली आयोजना हुनेछ । मंसिर १८ गते डडेल्धुराको परशुराम धाममा दिउँसो १२:३० बजे ट्रफी पुर्‍याइने कार्यक्रम छ ।

मंसिर १९ गते कैलालीको टीकापुर पार्कमा बिहान ८:३० बजे ट्रफी प्रदर्शन हुनेछ । त्यसपछि बिहान १० बजे चिसापानी, ११:३० बजे लम्की, १२:३० बजे घोडाघोडी ताल र दिउँसो २ बजे अत्तरियामा ट्रफी पुर्‍याइनेछ । दिउँसो ४ देखि ६ बजेसम्म महेन्द्रनगर बजारबाट दोधारा चाँदनी पुलसम्म र्‍याली हुनेछ ।

ट्रफी टुरको अन्तिम दिन मंसिर २० गते धनगढीमा कार्यक्रम हुनेछ । दिउँसो ३ देखि ५ बजेसम्म चौराहाबाट महोत्सव मैदानसम्म र्‍याली आयोजना हुनेछ । साँझ ५ बजे महोत्सव मैदानमा साङ्गीतिक कार्यक्रमसहित ट्रफी टुर समापन हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button