झापा महिला गोल्डकप : एपीएफ फाइनलमा
झापा । प्रतिस्पर्धात्मक खेलमा झापा–११ फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदै एपीएफ फुटबल क्लब झापाको दूधेमा जारी दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

खेलको २६ औँ मिनेटमा एपीएफले अग्रता लियो । एपीएफकी रश्मिकुमारी फ्रि–किकलाई सदुपयोग गर्दै गोल गरेकी थिइन् । एपीएफले खेलको ३८ औँ मिनेटमा अग्रता दोब्बर बनायो । मनमाया दमाईले मध्यभागमा दिएको पासलाई रश्मिले झापाका डिफेन्डर र गोलकिपरलाई बिट गर्दै गरेको प्रहारले जाली चुमेको थियो ।
खेलको सुरुवाती चरणबाटै झापाले रक्षात्मक तथा एपीएफले आक्रामक खेल प्रस्तुत गरेको थियो । झापाले निकालेको अवसरहरू पनि फितलो स्ट्राइकिङ लाइन र एपीएफको बलियो डिफेन्सका कारण विफल बनेका थिए ।
खेलको प्लेयर अफ द म्याच विजेता टिमmकी कप्तान रेनुका नगरकोटी घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ पुरस्कार पाइन् ।
भोलि (बिहीबार) अन्तिम सेमिफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस फुटबल क्लबबिच हुने आयोजक झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्