तपाईँ सुन्दै हुनुहुन्छः

‘मिसेस भोग नेपाल सिजन–४’ को ब्रान्ड एड्भोकेटमा एलिजा गौतम आबद्ध

काठमाडौँ । महिलाको सौन्दर्यलाई आत्मविश्वास, प्रतिभा, नेतृत्व र सामाजिक पहिचानसँग जोड्ने उद्देश्यसहित अघि बढिरहेको ‘मिसेस भोग नेपाल सिजन–४ : बियोन्ड द क्राउन’ मा एलिजा गौतम पुनः ब्रान्ड एड्भोकेटका रूपमा आबद्ध हुनुभएको छ। 

हाउस अफ फेसन नेपालले आयोजना गर्दै आएको यस अभियानमा सञ्चार क्षेत्रकी नेतृत्वकर्ता तथा सामाजिक अभियन्ता गौतमको पुनः सहभागितालाई महिला सशक्तीकरणको अभियानसँग जोडेर हेरिएको छ।   प्राइम टाइम्स टेलिभिजनकी निर्देशकसमेत रहनुभएकी गौतम सञ्चार क्षेत्रसँगै सामाजिक गतिविधिमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ। 

उहाँको सहभागिताले महिलाहरूलाई आफ्नो क्षमता पहिचान गर्न, आत्मविश्वासका साथ अघि बढ्न र समाजमा छुट्टै पहिचान स्थापित गर्न प्रेरित गर्ने आयोजकको विश्वास छ।   मिसेस भोग नेपालले विवाहित महिलाहरूको प्रतिभा, व्यक्तित्व र क्षमतालाई उजागर गर्दै उनीहरूलाई नयाँ अवसर र सम्भावनासँग जोड्ने लक्ष्य राखेको छ। यसले महिलालाई बाहिरी सौन्दर्यमा मात्र सीमित नराखी उहाँहरूको विचार, नेतृत्व क्षमता, आत्मनिर्भरता र सामाजिक योगदानलाई समेत उच्च महत्त्व दिँदै आएको छ।‘बियोन्ड द क्राउन’ अर्थात् मुकुटभन्दा पर भन्ने मूल नारासहित अघि बढिरहेको यस संस्करणले सौन्दर्य प्रतियोगिताको परम्परागत दायराभन्दा माथि उठेर हरेक महिलाको पहिचान, आत्मसम्मान र सम्भावनाको उत्सव मनाउन खोजेको छ। 

महिलाहरू एकअर्काका प्रेरणा बन्ने, आफ्ना सपना पछ्याउने र समाजमा सकारात्मक परिवर्तनको संवाहक बन्ने वातावरण निर्माण गर्नु यसको मुख्य उद्देश्य रहेको छ। गौतमको पुनः सहभागितासँगै मिसेस भोग नेपाल सिजन–४ ले महिला सशक्तीकरण, आत्मविश्वास र सामाजिक प्रभावको सन्देशलाई थप व्यापक बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button