बालबालिकाको सर्वोत्तम हितका लागि पारिवारिक वातावरण अपरिहार्य : मन्त्री वादी
काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले अभिभावकको संरक्षणबाट वञ्चित बालबालिकाको हेरचाहमा संस्थागत व्यवस्थाभन्दा परिवारमा आधारित वैकल्पिक हेरचाह प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालय र संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) को आयोजनामा आज ललितपुरमा आयोजित बालबालिकाको वैकल्पिक हेरचाहसम्बन्धी क्रियाकलापको अन्तरराष्ट्रिय वर्गीकरण (आइकेयर) सम्बन्धी राष्ट्रिय अन्तरक्रियामा उहाँले बालबालिकाको सर्वोत्तम हित, भावनात्मक सुरक्षा र सर्वाङ्गीण विकासका लागि पारिवारिक वातावरण अपरिहार्य रहेको बताउनुभयो ।
“संस्थागत हेरचाहलाई अन्तिम विकल्पका रूपमा सीमित गर्दै पारिवारिक पुनर्मिलन, नातेदारको हेरचाह र संरक्षित परिवारजस्ता परिवारमा आधारित वैकल्पिक हेरचाहलाई प्रवद्र्धन गर्नु नै बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्ने दिगो र मानवीय मार्ग हो ।” उहाँले भन्नुभयो ।
मन्त्री वादीले बालबालिकासम्बन्धी सूचना व्यवस्थापन प्रणाली र सामाजिक सूचना व्यवस्थापन प्रणालीलाई स्थानीयकरण गरी प्रदेश तथा स्थानीय तहसम्म विस्तार गर्ने काम मन्त्रालयले अघि बढाएको जानकारी दिनुभयो। स्थानीय तहबाटै बालबालिकाको नियमित र यथार्थ तथ्याङ्क सङ्कलन हुन सके राष्ट्रियस्तरमा उनीहरूको अवस्थाको स्पष्ट चित्र प्राप्त हुने उहाँको भनाइ थियो ।
आइकेयर वर्गीकरण प्रणालीले औपचारिक बालगृहदेखि नातेदारको हेरचाह, अनौपचारिक संरक्षण तथा अन्य वैकल्पिक हेरचाहका स्वरूपलाई अन्तरराष्ट्रिय मापदण्डअनुसार परिभाषित र वर्गीकरण गर्ने भएकाले नेपालको सन्दर्भ अनुकूल सूचक निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्