तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री शाहको भारत भ्रमणमा नेपाल–भारतबीच आठ समझदारी

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिने भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ विषयमा सहकार्य गर्नेबारे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।     

प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज सम्पन्न उच्चस्तरीय द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनका अवसरमा सहकार्य र समझदारीका विषयहरू सार्वजनिक गरिएको हो ।     

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल र भारतबिच शैक्षिक तथा अनुसन्धान, सुरक्षा, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, आयुर्वेद तथा परम्परागत चिकित्सा, भूउपग्रह सञ्चार सञ्जाल, दिगो सहरी विकास, स्वास्थ्य तथा चिकित्सा र पशुपालन तथा मत्स्यपालनका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको हो ।     

नेपाल भारतबिचको सम्झौताकाबारे आज विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले भारतको गुजरात राज्यको गान्धीनगरस्थित राष्ट्रिय विधि विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबिच शैक्षिक तथा अनुसन्धान सहकार्यसम्बन्धी समझदारी, भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबीच सहकार्य समझदारी भएको जनाएको छ ।

यस्तै भारत सरकारको प्रशासनिक सुधार तथा सार्वजनिक गुनासो विभाग अन्तर्गतको सुशासनसम्बन्धी राष्ट्रिय केन्द्र र नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच नेपाली निजामती कर्मचारीको क्षमता अभिवृद्धि तालिम कार्यक्रमसम्बन्धी, आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा पद्धतिको क्षेत्रमा सहकार्यसम्बन्धी समझदारी भएको हो।     

यस्तै दक्षिण एसिया भूउपग्रहको उपयोगका लागि भूउपग्रह सञ्चार सञ्जाल स्थापना गर्ने विषयमा भारत सरकारको अन्तरिक्ष अनुसन्धान सङ्गठन र नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालयबीच समझदारी तथा दिगो सहरी विकासको क्षेत्रमा प्राविधिक सहकार्यसम्बन्धी पनि नेपाल सरकार र भारत सरकारबीच समझदारी भएको छ ।     

स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपाल सरकारको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयबीच समझदारी र पशुपन्छी तथा मत्स्य विकासको क्षेत्रमा सहकार्यका लागि समझदारी भएको छ ।     

प्रतिक्रिया राख्नुहोस्

Back to top button