तपाईँ सुन्दै हुनुहुन्छः

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

झापा । झापाका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी नगरपालिका–१० माईधारस्थित अधिकारी चोकमा आज बिहान अनटेस्ट सिटी सफारी अनियन्त्रित भई सडकबाट करिब ३ मिटर तल खस्दा शिवसताक्षी–७ का ४० वर्षीय हस्त राजवंशीको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते राजवंशीलाई उपचारका लागि बिर्तासिटी अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा गंगा राजवंशी र १२ वर्षीय मुकेश राजवंशी घाइते भएका छन् । सिटी सफारी चालक नरेश राजवंशी सकुशल छन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

त्यस्तै, हिजो दिउँसो मेचीनगर–१५ बंशल बगानस्थित भद्रपुर–काँकडभिट्टा सडकखण्डमा स्कुटर दुर्घटना हुँदा भद्रपुर–८ का ५५ वर्षीय नगेन्द्र सापकोटाको मृत्यु भएको छ ।

काँकडभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको प्र१–०१–०१४ प ५९१७ नं को स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका सापकोटालाई प्रादेशिक अस्पताल भद्रपुर पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

स्कुटरमा पछाडि सवार ४९ वर्षीय किरण राई घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी, झापाको गौरादहमा स्कुटर दुर्घटनामा घाइते भएकी महिलाको मृत्यु भएको छ । शनिवार बिहान गौरादह ५ बालुबथानस्थित भित्री सडक खण्डमा बालुबथानबाट चप्रामारीतर्फ जाँदै गरेको प्र१–०१–०१९ प २६४५ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार दमक १ की ४० वर्षीया गीता अर्याल अधिकारीको उपचारको क्रममा लाइफलाइन अस्पतालमा हिजो साँझ मृत्यु भएको हो । स्कुटर चालक दमक ४ बस्ने वर्ष ३३ की भावना निरौला सिग्देलको बीएण्डसी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button