तपाईँ सुन्दै हुनुहुन्छः

आधुनिक सामग्रीको प्रयोग बढेसँगै लोप हुँदै निगालो र बाँसका परम्परागत सामग्री

बाजुरा । सुदूरपश्चिम र कर्णालीका पहाडी जिल्लाका घरघरमा परम्परागत रूपमा प्रयोग हुँदै आएका निगालो र बाँसबाट निर्मित सामग्री पछिल्लो समय लोप हुँदै जान थालेका छन् ।

बजारमा प्लास्टिकका आधुनिक सामग्री र सस्ता वैकल्पिक वस्तुको प्रयोग बढेसँगै निगालो र बाँसको चोयाबाट बनाइने डालो, नाङ्लो, छाप्री र कुरुजस्ता परम्परागत सामग्रीको माग घट्दै गएको छ ।

बाजुराको बडीमालिका नगरपालिका–५ का स्थानीय छक्क साउँदका अनुसार पहिले गाउँका प्रायः हरेक घरमा निगालो र बाँसबाट विभिन्न सामग्री बनाउने गरिन्थ्यो । तर, अहिले ती सामग्रीको माग घट्दै गएको छ ।

उचित मूल्य नपाउँदा यस्ता सामग्री बनाउने पेसासमेत सङ्कटमा परेको उहाँको भनाइ छ ।

बाजुरालगायत सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लामा निगालो तथा बाँसको पर्याप्त स्रोत भए पनि यसको उपयोग घट्दै गएको स्थानीय बताउँछन् ।

निगालोको चोयाबाट बनाइने सामग्री वातावरणमैत्री र टिकाउ भए पनि बजारको अभाव तथा आधुनिक सामग्रीसँग प्रतिस्पर्धा गर्न नसक्दा परम्परागत सीप नै हराउने अवस्थामा पुगेको छ ।

स्थानीय व्यवसायीहरूले परम्परागत हस्तकला र सीपको संरक्षणका लागि सरकारले विशेष योजना ल्याउनुपर्नेमा जोड दिएका छन् । उचित बजार, मूल्य र प्रोत्साहनको व्यवस्था गर्न सके निगालो तथा बाँसबाट सामग्री बनाउने परम्परागत पेसालाई पुनर्जीवन दिन सकिने उनीहरूको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button