राप्ती नदीमा १० हजार माछाका भुरा छाडियो
बाँके । जलवायु परिवर्तनका कारण प्राकृतिक जलाशयमा माछाको सङ्ख्या घट्दै जान थालेपछि मत्स्य सम्पदाको संरक्षण र जलीय जैविक विविधता प्रवर्द्धन गर्ने उद्देश्यले बाँकेको राप्ती नदीमा १० हजार माछाका भुरा छाडिएको छ ।
विश्व मत्स्य दिवसका अवसरमा ‘जलवायु परिवर्तनप्रति हाम्रो जिम्मेवारी, मत्स्य सम्पदाको संरक्षणमा गरौँ साझेदारी’ भन्ने नारासहित शम्शेरगञ्जमा आयोजित कार्यक्रममा माछाका भुरा नदीमा छाडिएको हो ।
मत्स्य विकास केन्द्र, शम्शेरगञ्जको आयोजनामा सम्पन्न कार्यक्रममा फिंगरलिङ तथा इयरलिङ आकारका माछाका भुरा प्राकृतिक जलाशयमा छाडिएको केन्द्रले जनाएको छ ।
नदीमा माछाको सङ्ख्या वृद्धि, जलीय जैविक विविधताको संरक्षण र नदीमा आश्रित स्थानीय समुदायको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
मत्स्य विकास अधिकृत प्रेमकुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल प्रमुख अतिथि तथा गाउँपालिका–८ का वडाध्यक्ष शालिकराम डाँगी विशेष अतिथि रहनुभएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष पौडेलले जलवायु परिवर्तनको प्रत्यक्ष असर प्राकृतिक जलाशय र मत्स्य सम्पदामा देखिन थालेको बताउनुभयो । उहाँले माछापालन व्यवसायको प्रवर्द्धन र नदीनालाको संरक्षणका लागि स्थानीय तह आवश्यक नीति तथा बजेट विनियोजन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
परम्परागत रूपमा माछा मारेर जीविकोपार्जन गर्दै आएका जलारी समुदायको पेसा संरक्षण गर्नुका साथै कृषकलाई व्यावसायिक मत्स्यपालनतर्फ आकर्षित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
मत्स्य विकास अधिकृत चौधरीले प्राकृतिक जलाशयमा माछाको सङ्ख्या घट्दै गएकाले हरेक वर्ष नदीमा माछाका भुरा छाड्ने कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो । उहाँले जलवायु अनुकूलित मत्स्यपालन प्रविधि अपनाउन कृषकलाई आग्रह गर्दै केन्द्रले आवश्यक प्राविधिक सहयोग र गुणस्तरीय माछाका भुरा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बाँके र बर्दियाका व्यावसायिक माछापालक कृषक, जलारी समुदाय, बाँके राष्ट्रिय निकुञ्जका प्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका व्यक्तिहरूको सहभागिता थियो ।
सो अवसरमा कृषकहरूले मत्स्यपालनका क्रममा भोग्नुपरेका बजार व्यवस्थापन, माछाको दानाको मूल्यवृद्धि तथा प्राविधिक समस्याबारे जिज्ञासा र सुझाव राखेका थिए ।
विश्व मत्स्य दिवसका अवसरमा आयोजित अन्तर्क्रिया तथा माछाका भुरा छाड्ने कार्यक्रमले प्राकृतिक जलाशयको संरक्षण, मत्स्य उत्पादन वृद्धि र स्थानीय समुदायको आयआर्जन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
मत्स्य सम्पदाको दिगो संरक्षणका लागि तीनै तहका सरकार, संरक्षण क्षेत्रका निकाय, मत्स्यपालक कृषक र स्थानीय समुदायबीच सहकार्य तथा साझेदारी आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका थिए ।








प्रतिक्रिया राख्नुहोस्