बाँकेको सिधनियाघाटमा तीनदिने कार्तिक पूर्णिमा मेला सुरु
बाँके । बाँकेको डुडुवा गाउँपालिका–४ स्थित राप्ती नदीको सिधनियाघाटमा कार्तिक पूर्णिमाको अवसरमा आयोजित तीनदिने कार्तिक पूर्णिमा मेला, धनुष यज्ञ तथा भण्डारा कार्यक्रम आइतबारदेखि सुरु भएको छ ।
श्री अष्टोत्तरशत शिवलिङ्ग विश्वंभरनाथ मन्दिर विकास कोषको आयोजनामा सुरु भएको मेलाको धार्मिक परम्पराअनुसार माता जानकी निरौलाजीले पूजापाठ गरी धनुष यज्ञको शुभारम्भ गर्नुभएको हो । सो अवसरमा मन्दिरका पुजारी पण्डित रामप्रताप मिश्र शास्त्री महाराजजीले विधिपूर्वक पूजावाचन गर्नुभएको थियो ।
मेला उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका संघीय मामिला तथा कानूनमन्त्री भण्डारीलाल यादव, प्रदेशसभा सदस्यद्वय मीना श्रेष्ठ र अम्बिका काफ्ले, डुडुवा गाउँपालिका–४ का वडाध्यक्ष झंकबहादुर थापालगायत जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी र श्रद्धालु भक्तजनको सहभागिता थियो ।
कार्यक्रममा वक्ताहरूले धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको सिधनियाघाटलाई धार्मिक तथा पर्यापर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए । राप्ती नदीको प्राकृतिक सौन्दर्य र यस क्षेत्रको धार्मिक महत्त्वलाई संरक्षण तथा प्रवर्द्धन गर्न सके स्थानीय पर्यटन, रोजगारी र आर्थिक गतिविधिमा समेत टेवा पुग्ने उनीहरूको भनाइ थियो ।
मङ्सिर ६ देखि ८ गतेसम्म सञ्चालन हुने मेलामा भारतको वृन्दावनबाट आएका कलाकारले रहस्य लीला तथा धनुष यज्ञको विशेष प्रस्तुति दिने आयोजकले जनाएको छ । मेलामा सहभागी श्रद्धालु भक्तजनका लागि भण्डाराको समेत व्यवस्था गरिएको छ ।
कार्तिक पूर्णिमाको धार्मिक तथा सांस्कृतिक महत्त्व उजागर गर्नुका साथै सिधनियाघाटको धार्मिक पहिचान स्थापित गरी यस क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले मेला आयोजना गरिएको मन्दिर विकास कोषका अध्यक्ष घनश्याम गुप्ताले बताउनुभयो । मेला तथा भण्डारा सञ्चालनमा डुडुवा गाउँपालिकाले समेत सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।
मेलाको अन्तिम दिन मङ्सिर ८ गते साँझ ५ बजे राप्ती नदीको सिधनियाघाटमा गङ्गा महाआरती आयोजना गरिने मेला व्यवस्थापन समितिका संयोजक विजयकुमार गुप्ताले जानकारी दिनुभयो ।
आयोजकले तीनदिने मेला व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी गरेको जनाएको छ । साथै, धार्मिक तथा सांस्कृतिक कार्यक्रमको अवलोकन, पूजाआजा र भण्डारामा सहभागी हुन श्रद्धालु भक्तजन, स्थानीयवासी तथा सर्वसाधारणलाई आमन्त्रण गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्