झापा महिला गोल्डकप सुरु
झापा । झापाको दूधेमा दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकप आजदेखि सुरु भएको छ ।
शिवसताक्षीस्थित दूधे रङ्गशालामा आज भएको उद्घाटन खेलमा झापा–११ फुटबल क्लब विजयी भएको छ ।

सजिना स्याङतानको ह्याट्रिकको मद्दतले झापा ११ ले आरएस पोखरा फुटबल क्लबलाई १०–० ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
एकपक्षीय खेलमा झापाले पोखरालाई दबाबमा राखेको थियो । खेल अवधिभर पोखराले झापाको पोस्टमा गोलको अवसर सिर्जना गर्न सकेन । पहिलो हाफमा प्रतिस्पर्धात्मक खेल पस्केको पोखराले दोस्रो हाफमा ८ गोल खाएको थियो । झापाको जितमा सजिना स्याङतानले ह्याट्रिकसहित ४, ममता राउतले २ तथा सेमिहाङमा लिम्बु, सञ्जु तामाङ, अञ्जली चन्द र पुनम चेम्जोङले १–१ गोल गरे ।
खेलको प्लेयर अफ द म्याच विजेता झापाकी सजिना स्याङतान घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ पुरस्कार पाइन् ।
भोलि आइतबार विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लब र भारतको एभी एफसीबीच खेल हुनेछ ।
प्रतियोगितामा आयोजक झापा–११, आरएस पोखरा फुटबल क्लब, बागमती युथ क्लब, भुटानको थिम्पु राभेन वुमन एफसी, भारतको एभी फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब, त्रिभुवन आर्मी एफसी र सशस्त्र प्रहरीको एपिएफ एफसीसहित ८ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले नगद ११ लाख तथा उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छ । प्रतियोगिताको उत्कृष्ट एकजना खेलाडीले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छ । त्यसैगरी, उत्कृष्ट गोलकिपर, मिड फिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्घाटन शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्राले गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्