तपाईँ सुन्दै हुनुहुन्छः

विपद्को पूर्वसूचना दिने ‘सेल ब्रोडकास्टिङ’ प्रणाली परीक्षण गरिँदै

काठमाडौँ।  विपद्का समयमा नागरिकलाई मोबाइल फोनमार्फत तत्काल पूर्वसूचना उपलब्ध गराउने उद्देश्यले ‘सेल ब्रोडकास्टिङ प्रणाली’ (सिबीएस)को परीक्षण गरिने भएको छ ।

सूचना तथा सञ्चार मन्त्रालय, गृह मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल टेलिकमको समन्वयमा मङ्सिर ४ गते काठमाडौँको बलम्बु क्षेत्रमा उक्त प्रणालीको सीमित प्राविधिक परीक्षण गर्न लागिएको दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिनुभयो ।

परीक्षणका क्रममा तोकिएको क्षेत्रमा रहेका परीक्षण उपकरणहरूमा मोबाइल नेटवर्कमार्फत पूर्वसूचना सन्देश पठाइनेछ । उक्त सन्देश परीक्षणका लागि तोकिएका मोबाइल उपकरणमा मात्र प्राप्त हुने जनाइएको छ ।

यस परीक्षणको मुख्य उद्देश्य विपद्का समयमा मोबाइल फोनमार्फत पूर्वसूचना सन्देश प्रवाह गर्ने प्रणालीको प्राविधिक कार्यक्षमता तथा सन्देश प्राप्त हुने अवस्थाको परीक्षण गर्नु रहेको छ ।

सेल ब्रोडकास्टिङ प्रणाली निश्चित भौगोलिक क्षेत्रभित्र रहेका मोबाइल फोनमा एकै पटक आपत्कालीन सूचना तथा चेतावनी सन्देश पठाउन सकिने प्रविधि हो । यस प्रणालीमार्फत सिमकार्ड वा इन्टरनेट सेवा नभए पनि मोबाइल नेटवर्कको पहुँचमा रहेका उपकरणमा सन्देश प्राप्त हुनसक्छ ।

सामान्य म्यासेजभन्दा फरक यस प्रविधिले नेटवर्कमा अत्यधिक चाप भएका अवस्थामा समेत छोटो समयमा धेरै मोबाइल उपकरणमा सूचना पु¥याउन सक्छ । साथै, विपद्को जोखिम रहेको निश्चित क्षेत्रमा मात्र सन्देश पठाउन सकिने भएकाले आवश्यकताअनुसार लक्षित समुदायलाई सचेत गराउन सकिनेछ ।

प्रारम्भिक परीक्षण सफल भएमा उक्त प्रणालीलाई चरणबद्ध रूपमा विस्तार गर्दै विपद्को उच्च जोखिम रहेका क्षेत्रहरूमा कार्यान्वयन गर्ने योजना रहेको छ । यस प्रणालीको कार्यान्वयनले बाढी, पहिरोलगायत प्राकृतिक विपद्को जोखिम रहेका क्षेत्रका नागरिकलाई समयमै सचेत गराउन तथा सम्भावित जोखिमबाट जोगिन आवश्यक पूर्वतयारी र सुरक्षात्मक उपाय अपनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नेपालमा विपद् पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने तथा दूरसञ्चार प्रविधिको उपयोगमार्फत नागरिकको सुरक्षा सुनिश्चित गर्ने दिशामा यो परीक्षणलाई महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button