मधेस प्रदेशको विकासप्रति सरकार गम्भीर: मन्त्री लम्साल

जनकपुरधाम । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले वर्तमान सरकारले मधेस प्रदेशको विकासलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जनकपुरधाम नगर कमिटीले जनकपुरमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री लम्सालले चालु आर्थिक वर्षमा सङ्घीय सरकारबाट सबैभन्दा बढी बजेट मधेस प्रदेशका लागि विनियोजन भएको जानकारी दिनुभयो ।
उहाँले सडक, पुल, भवन र खानेपानी लगायत भौतिक पूर्वाधारका क्षेत्रमा देशकै सबैभन्दा बढी करिब ५० अर्ब रुपैयाँ बजेट मधेस प्रदेशका लागि विनियोजन गरिएको बताउनुभयो ।
सङ्घीय सडकका ठेक्का प्रक्रिया क्रमशः अगाडि बढिरहेको उल्लेख गर्दै मन्त्री लम्सालले कमला पुललगायत हुलाकी राजमार्गका अधुरा पुलहरूको निर्माण सम्पन्न गर्ने सरकारको योजना रहेको स्पष्ट पार्नुभयो । साथै, बजार क्षेत्रमा हुलाकी राजमार्गलाई चार लेनको बनाउने योजनासमेत अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।
मधेस प्रदेशको विकासका लागि आवश्यक थप योजना तथा सुझाव दिन आग्रह गर्दै उहाँले आवश्यकता र औचित्यका आधारमा सरकारले थप बजेट तथा कार्यक्रम उपलब्ध गराउने बताउनुभयो । जनकपुरधामको पूर्वाधार विकासका विषयमा थप छलफल गर्ने बताउँदै मन्त्री लम्सालले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी अनुशासित र व्यवस्थित ढङ्गले सङ्गठनात्मक गतिविधिमा लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।
देशभर निर्माण क्षेत्रमा काम गर्ने श्रमिकमध्ये ७० प्रतिशतभन्दा बढी मधेस प्रदेशका रहेको उल्लेख गर्दै मन्त्री लम्सालले श्रमिकको पारिश्रमिक वृद्धि गर्ने सरकारको निर्णयबाट यस प्रदेशका श्रमिक सबैभन्दा बढी लाभान्वित हुने दाबी गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्