तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी विकास कोष : नवनियुक्त पदाधिकारीहरूद्वारा पदबहाली

रुपन्देही । लामो समयदेखि पदाधिकारीविहीन लुम्बिनी विकास कोषले पूर्णता पाएको छ । बुधबार कोषका पदाधिकारी तथा सदस्यहरुले लुम्बिनीमा पद बहाली गर्नुभएको हो । सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरेको एक महिनापछि आनी छोइङ डोल्मा बुधबार बुद्ध जन्मस्थल लुम्बिनी आउनुभएको हो ।

कोषले पूर्णता पाएसँगै उहाँ पदबहालीका लागि भैरहवा विमानस्थल भएर बुधबार दिउँसो लुम्बिनी आउनुभएको हो । उहाँको नियुक्ति लगत्तै लुम्बिनी बचाउ महाअभियानले विरोध सुरु गरेको थियो । उहाँको नागरिकता र आर्थिक पक्षलाई उठान गरेर महाअभियानले विरोध थालेपछि आनी छोइङले कोषले पूर्णता पाएपछि मात्रै लुम्बिनी आउने अडान लिनुभएको थियो । बुधबार कोषका कर्मचारी, स्थानीय बासिन्दा र सरकारी अधिकारीले स्वागत गरेका कोषका प्रशासन प्रमुख ज्ञानिन राईले बताउनुभयो ।

मङ्गलवार मात्रै सरकारले कोषाध्यक्षमा पूर्व एआईजी रमेश शेखर बज्राचार्यलाई नियुक्त गरेसँगै कोषले पूर्णता पाएको हो। त्यसअघि सदस्य सचिव सन्तोष पाण्डेय नियुक्त हुनुभएको थियो । कोषका प्रशासन प्रमुख राईका अनुसार बुधबार तीनै जना पदाधिकारी तथा चार सदस्यहरुले पदबहाली गर्नुभएको हो । सो क्रममा उपाध्यक्ष आनीले आफूहरू लुम्बिनीमा केही नयाँ काम गरेर देखाउन आएको प्रतिबद्धता गर्नुभएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को असोज ३० गतेको बैठकले आनीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । दुई साताअघि बसेको मन्त्रिपरिषद् बैठकले करिब ६ महिनादेखि रिक्त सदस्य–सचिवमा तिलोत्तमा नगरपालिकाका पाण्डेयलाई नियुक्त गरेको थियो । उक्त बैठकले परिषद् सदस्यमा डा. अमित केसी, उपेखा गुरुमा, दीपक कौशल र अर्जुन कुर्मीलाई नियुक्त गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button