तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटमा स्कुटर दुर्घटनामा दुई भारतीय किशोरको मृत्यु, दुई घाइते

रौतहट । रौतहटमा चार जना सवार स्कुटर दुर्घटना हुँदा दुई भारतीय किशोरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

जिल्लाको राजदेवी नगरपालिका–१, मोतिपुरस्थित सडकमा सोमबार साँझ स्कुटर अनियन्त्रित भई पुलमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा भारतको सीतामढी जिल्ला भकुरहरका १६ वर्षीय प्रिन्स पासवान र जमुवा टोलका १८ वर्षीय अनिकेत पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

दुर्घटनामा भकुरहरकै १७ वर्षीय सुनिल पासवान र रौतहटको यमुनामाई नगरपालिका–५, झुनखुनवाका १५ वर्षीय आकाश पासवान घाइते भएका छन् । उनीहरूको टाउको, हातलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइते दुवैको प्रादेशिक अस्पताल गौर र वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मधेश प्रदेश ०३–०४२ प १४२९ नम्बरको स्कुटर झुनखुनवाबाट मोतिपुरतर्फ जाँदै थियो । क्षमताभन्दा बढी चार जना सवार रहेको स्कुटर अनियन्त्रित भई पुलमा ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button