तपाईँ सुन्दै हुनुहुन्छः

मुगु दुर्घटना अपडेट : मृतक तीन जनाको पहिचान खुल्यो

मुगु। मुगुको छायानाथ रारा नगरपालिका–७ टोप्लास्थित ताल्चा–रारा कच्ची सडकखण्डमा हाइलक्स गाडी दुर्घटना हुँदा मृत्यु भएको तीन जनाको पहिचान खुलेको छ ।

 मृत्यु हुनेमा काठमाडौँको कलङ्कीका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापा रहेका छन्।

सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाइलक्स गाडी शनिबार दिउँसो करिब ४ः४५ बजे सडकबाट करिब ६०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। दुर्घटनामा गाडीमा सवार पाँच जनामध्ये तीन जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । 

त्यस्तै, दुर्घटनामा गाडी चालक ललितपुर महानगरपालिका–१५ का ५८ वर्षीय कञ्चन थापा र ५४ वर्षीया अञ्जु थापा घाइते भएका छन्। उनीहरू दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी नायब उपरीक्षक रविराज थपलियाको कमाण्डमा जिल्ला प्रहरी कार्यालय मुगुबाट १० जना र ताल्चास्थित प्रहरी टोलीबाट ७ जना गरी १७ जना प्रहरी घटनास्थलमा खटिएका थिए। प्रहरी टोलीले घाइतेको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल मुगु पुर्‍याएको थियो।

दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button