तपाईँ सुन्दै हुनुहुन्छः

बागेश्वरी मन्दिर परिसरको तलाउमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइयो छठ

नेपालगञ्ज । नेपालगञ्जको बागेश्वरी मन्दिर परिसरस्थित तलाउमा आज साँझ ठूलो सङ्ख्यामा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाएका छन् ।

सूर्यको उपासना र आराधना गर्दै मनाइने आस्थाको महापर्व छठका लागि बागेश्वरी मन्दिर परिसरको तलाउलाई यस वर्ष पनि आकर्षक रूपमा सजाएर ‘छठी घाट’ बनाइएको छ । 

छठ पर्व मनाउनेको संख्या वर्षेनी बढ्दै जाँदा नेपालगञ्जमा यसको रौनक र उल्लास समेत बढ्दै गएको छ । पछिल्ला केही वर्षयता बागेश्वरी मन्दिर परिसरस्थित तलाउमा छठ मनाउने भक्तजनको उल्लेख्य भीड लाग्ने गरेको छ ।

छठ पर्वका अवसरमा तलाउ क्षेत्रमा आकर्षक टेन्ट तथा विद्युत् बत्तीको सजावट, बाजागाजाको व्यवस्था, सांस्कृतिक भजन प्रस्तुतिका लागि मञ्च निर्माण र घाटको सरसफाइ गरिएको छ । साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका व्रतालुहरूले सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व विधिवत् रूपमा समापन गर्नेछन् ।

पहिले विशेषगरी पूर्वी तराईमा धुमधामका साथ मनाइने छठ पर्व पछिल्लो समय पश्चिम नेपालमा समेत उत्तिकै उत्साह र श्रद्धाका साथ मनाउन थालिएको छ । धार्मिक आस्था, पवित्रता र प्रकृतिप्रतिको सम्मानसँग जोडिएको यस पर्वको आकर्षण नेपालगञ्जमा पनि वर्षेनी बढ्दै गएको छ ।

चार दिनसम्म विभिन्न विधि र परम्परा अनुसार मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरूले नुहाएर चोखो भई अरबा अरबाइन (शुद्ध सात्त्विक भोजन) ग्रहण गर्छन् । दोस्रो दिन खरना विधिअन्तर्गत प्रसादका रूपमा खिर ग्रहण गरिन्छ । तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्वको समापन हुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button