पोखराका मुख्य ४ ठाउँमा छठ पर्व मनाइँदै
पोखरा । पर्यटकीय नगरी पोखरामा पनि यस वर्षको छठ पर्व मुख्य गरी ४ ठाउँमा सामूहिक रुपमा धुमधामका साथ मनाइदैछ । अस्ताउँदो सूर्यलाई अर्घ, फलफूलसहित जल चढाउन सूर्यका भक्तहरूले पोखराका विभिन्न घाटमा भेला हुनुभएको हो ।

पोखरामा मुख्यगरी नदीपुरस्थित नारायणथान मन्दिर परिसर, बैदामस्थित केदारेश्वर महादेवमणि मन्दिर परिसर (फेवाताल किनार), रिठ्ठाघाट त्रिवेणीधाम (कालीखोला) र कमलपोखरी गरी चार स्थानमा छठ पर्व विशेष उत्साहका साथ मनाइँदै गरेको विभिन्न स्थानका छठ पूजा समितिहरूले जनाएका छन् ।
नेपाल–भारत व्यवसायी संघ (एनबी) कास्कीका पूर्व अध्यक्ष भुनेस कुमारका अनुसार यस वर्ष पनि बैदामस्थित केदारेश्वर महादेवमणि मन्दिर परिसरमा रहेको फेवाताल किनारको छठघाटमा धुमधामका साथ छठ माताको पूजा आराधना गरिएको बताउनुभयो । काम विशेष तथा पेसा व्यवसायका सिलसिलामा तराई–मधेसबाट पोखरा आएर बसोबास गर्ने समुदायले पनि आफ्नो मौलिक धार्मिक तथा सांस्कृतिक पर्व छठलाई यहाँ व्यवस्थित रूपमा मनाउन थालेपछि पोखरामा छठ पर्वको आकर्षण र सहभागिता बढ्दै गएको उहाँको भनाइ छ । अहिले पोखरामै सहज रूपमा छठ पूजा गर्न पाउँदा व्रतालु तथा भक्तजनलाई सुविधा पुगेको उहाँले बताउनुभयो ।
त्यसैगरी, पोखरा नदीपुरस्थित नारायणथान मन्दिर परिसरमा रहेको छठघाटमा पनि पूजा सुरु भएको छ । नारायणथान मन्दिर निल कण्ठ महादेव छठ पूजा समितिका अध्यक्ष विनोद गुप्ताका अनुसार आज अस्ताउँदो सूर्यलाई अर्घ दिने र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिने भएको छ । उहाँका अनुसार पोखरामा करिब दुई दशकभन्दा अघिदेखि नारायणथान मन्दिर नजिकैको नहरबाट छठ पूजा गर्न सुरु गरिएको हो । सुरुवाती समयमा सीमित स्थानबाट सुरु भएको छठ पूजा अहिले पोखराका विभिन्न स्थानमा विस्तार हुँदै चार वटा मुख्य घाटसम्म पुगेको उहाँले बताउनुभयो ।
त्यस्तै, पोखराको रिठ्ठाघाट त्रिवेणीधाम (कालीखोला) र कमलपोखरी क्षेत्रमा पनि यस वर्ष छठ पर्व धुमधामका साथ मनाउने तयारी गरिएको सम्बन्धित छठ पूजा समितिहरूले जनाएका छन्।
चार दिनसम्म श्रद्धा, भक्ति र निष्ठापूर्वक मनाइने छठ पर्व सूर्यदेव र छठी माताको उपासनासँग सम्बन्धित महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो । पारिवारिक सुख, शान्ति, समृद्धि, सन्तानको दीर्घायु तथा कल्याणको कामना गर्दै यो पर्व मनाउने परम्परा छ । पोखरामा व्यवस्थित रुपमा छठ पर्व मनाउन थालेसँगै पोखरा क्षेत्रमा रहेका तराई, मधेसका समुदायहरूले पोखरामै छठ पर्व मनाउनेहरूको सङ्ख्यामा केही वृद्धि हुँदै गएको स्थानीयले बताउनुभएको छ । पोखराका विभिन्न छठघाटमा सरसफाइ, सजावट तथा आवश्यक व्यवस्थापनका सहित दुलही झैँ सिँगारिएको छ ।








प्रतिक्रिया राख्नुहोस्