दूध बेचेर आत्मनिर्भर, दुई जनालाई रोजगारी
इलाम । सूर्योदय नगरपालिका–८ कजेनीका दिनेश महतले व्यावसायिक गाईपालनबाट राम्रो आम्दानी गर्दै दुई जना स्थानीय युवालाई रोजगारी समेत दिनुभएको छ ।
चार वर्षअघि रु ३० लाख लगानीमा ‘बिएण्डएम कृषि तथा पशुपालन फार्म’ सञ्चालन गर्नुभएका महतको फार्ममा हाल १० माउ गाई छन् । तीमध्ये पाँच दुहुना र पाँच वटा चाँडै बियाउने स्थितिमा छन् । फार्ममा १४ बाच्छी पनि हुर्किरहेका छन् ।
उहाँले दैनिक ५० देखि ६० लिटर दूध उत्पादन गरी प्रतिलिटर रु ५५ देखि ६० सम्ममा नजिकैको सहकारीमा बिक्री गर्दै आउनुभएको छ । दूध बिक्रीबाट वार्षिक करिब रु ११ लाख आम्दानी हुने उहाँले बताउनुभयो । लगानीअनुसार दूधको मूल्य कम पाएको उहाँको गुनासो छ ।
गाईपालनबाट स्वरोजगार बन्नुभएका महतले फार्ममा दुई युवालाई खान बस्न सुविधासहित मासिक रु १८ हजार तलब दिएर रोजगारी दिनुभएको छ । फार्म सञ्चालनका लागि ३० रोपनी जमिनमा सुपर नेपियर, अम्रिसो तथा अन्य प्रजातिका घाँस लगाउनुभएको छ ।
गाईपालनसँगै उहाँले १०० रोपनी जग्गा भाडामा लिएर ४० रोपनीमा व्यावसायिक स्कुस र बाँकी क्षेत्रमा चियाखेती समेत गर्दै आउनुभएको छ । गाईको मल आफ्नै कृषि खेतीमा प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो ।
गाउँमै बसेर विदेशमा भन्दा राम्रो आम्दानी गर्न सकिने सन्देश दिन आफूले व्यावसायिक कृषि तथा पशुपालन रोजेको महत बताउनुहुन्छ । युवालाई स्वदेशमै स्वरोजगारी गर्न प्रेरित गर्नुपर्नेमा उहाँको जोड छ ।








प्रतिक्रिया राख्नुहोस्