तपाईँ सुन्दै हुनुहुन्छः

कवि मुक्तिनाथ साहित्य सम्मानबाट कटेल र राई सम्मानित

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा कवि मुक्तिनाथ साहित्य सम्मानबाट  दुई जना साहित्यकारलाई सम्मान गरिएको छ । 

नेपाली साहित्य क्षेत्रमा योगदान पु¥याएको भन्दै सोलुखुम्बु इनिसिएटिभ नेचासल्यान–४ को आयोजनामा भएको कार्यक्रममा नेचासल्यान गाउँपालिका–४ का साहित्यकार हरि कटेल र वडा नम्बर २ का डा. मुलिवीर राईलाई सम्मान गरिएको हो । 

उहाँहरूलाई दोसल्ला, सम्मानपत्र र जनही आठ हजार ८४८ रुपियाँ नगदसहित सम्मान गरिएको छ । सोलुखुम्बुको नेचामा जन्मिएर हाल  विराटनगरमा बसोबास गर्ने साहित्यकार कटेल शिक्षण पेशामा आवद्ध रही विगत लामो समयदेखि कविता र समालोचनाको क्षेत्रमा लोकप्रिय हुनुहुन्छ भने बेलायतमा बस्ने पुर्व ब्रिटिस सेनामा कार्यरत राईले करिब आधा दर्जन उपन्यास पाठक समक्ष ल्याइसक्नुभएको छ । 

त्यस अवसरलेमा आयोजित आशुकविता सिर्जना प्रतियोगितामा आशु कविता सिर्जना प्रतियोगिता–२०८३ सम्पन्न भएको छ । जसमा सञ्जीव भण्डारी प्रथम, दिप्सन बास्तोला द्वितीय र कुलबहादुर नेपाली तृतीय हुनु भएको छ । प्रतियोगितामा निशा नेपालीले सान्त्वना स्थान हासिल गर्नुभएको छ । 

कार्यक्रममा सहभागी वक्ताहरूले साहित्यको विकास, सर्जकको सम्मान र विद्यार्थीको शैक्षिक प्रोत्साहनका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभएको थियो । साहित्यको संरक्षण र प्रवद्र्धन, स्रष्टाको सम्मान तथा विद्यार्थीको शैक्षिक विकासलाई केन्द्रमा राखेर आयोजना गरिएको यस कार्यक्रमले स्थानीय तहमा साहित्यिक गतिविधि विस्तार गर्नुका साथै नयाँ पुस्तामा सिर्जनात्मक चेतना र अध्ययनप्रतिको रुचि अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

सोही अवसरमा नेपाल आईडी शैक्षिक छात्रवृत्ति–२०८३ अन्तर्गत जिल्लाभरीका पाँच जना विद्यार्थीलाई जनही आठ हजार ८४८ रुपियाँ नगद र सम्मानपत्र प्रदान गरिएको छ । छात्रवृत्ति प्राप्त गर्नेमा केदार माध्यमिक विद्यालय नेचासल्यानका निशा नेपाली र गीता भण्डारी, छेस्काम माध्यमिक विद्यालय महाकुलुङकी अस्मिता कुलुङ, वीरेन्द्रज्योति माध्यमिक विद्यालय सोताङकी अनिसा कुलुङ तथा गार्मा माध्यमिक विद्यालयका एक विद्यार्थी रहेका छन् ।

साहित्यिक सिर्जनाको संरक्षण, प्रतिभाको पहिचान तथा विद्यार्थीलाई शिक्षाप्रति प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । रोहितप्रसाद बास्तोलाको अध्यक्षता तथा कोशी प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button