प्रधानमन्त्री बालेन शाहद्वारा छठ पर्वको शुभकामना व्यक्त
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रकृति र आस्थाको महान् पर्व छठका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, आरोग्य र समृद्धिको कामनासहित शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै भगवान् सूर्यदेव र छठी माताको आराधना गरी मनाइने छठ पर्वले परिवारको सुख, शान्ति, आरोग्य तथा सन्तानको दीर्घायुको कामना गर्ने परम्परा बोकेको उल्लेख गर्नुभएको छ ।
उहाँले छठ पर्वले उदाउँदो सूर्यसँगै अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धा र सम्मानका साथ अर्घ्य दिने परम्परामार्फत प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई सम्मान गर्ने गहिरो सन्देश दिने बताउनुभएको छ ।
प्रधानमन्त्री शाहले चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्पराको स्मरण गर्नुभएको छ ।
सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले छठ पर्वले देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्न सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले भगवान् सूर्यदेव र छठी माताको कृपा सबैमा रहिरहोस् भन्दै मैथिली भाषामा पनि छठ पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्