अछामको प्रसिद्ध ‘केदारनाथ मेला’ अर्थात् जामाको जात्रा सुरु
अछाम। अछामको प्रसिद्ध धार्मिक तथा सांस्कृतिक उत्सव ‘केदारनाथ मेला’ अर्थात् जामाको जात्रा आजदेखि सुरु भएको छ ।कात्तिक शुक्ल पञ्चमीदेखि चतुर्दशीसम्म लगातार १० दिन मनाइने यस मेलामा केदारनाथ देवताको विशेष पूजाआजा, धामी नाच र परम्परागत डेउडा खेल मुख्य आकर्षणका रूपमा रहने गरेका छन् ।

कमलबजार नगरपालिका–७ स्थित जामा गाउँमा लाग्ने मेलामा केदारनाथ र छडाल देवताको ‘धेवर’ लगाउने परम्परा छ । देवताको थानमा गरिने विशेष नाच तथा प्रार्थनालाई धेवर भनिन्छ । मेलाको त्रयोदशीका दिन राति ‘खला नाच्ने’ परम्परा रहेको केदारनाथ देवताका पुजारी खगेन्द्र उपाध्यायले जानकारी दिनुभयो ।
स्थानीय जानकार महेन्द्र खतिवडाका अनुसार मेलाको नवौँ दिन अर्थात् त्रयोदशीमा विशेष धार्मिक परम्परा निर्वाह गरिन्छ । त्यस दिन तीनतले ठूला घरबाट छडाल देवताले पानी खाने र केदार देवता बाघ–बिरालोको स्वरूपमा प्रस्तुत हुने धार्मिक मान्यता छ । उक्त परम्परामा झन्करे ढोलीले छडाल देवताको प्रतिनिधित्व गर्दै पानी खाने तथा इन्द्रे कामी र बुदे कामीले बाघ–बिरालोको स्वरूपमा नाच्ने गर्नुहुन्छ ।

मेलाको अन्तिम दिन अर्थात् चतुर्दशीमा इन्द्रे कामी, बुदे कामी, झन्करे ढोली र प्रेम ढोलीलगायत धामीहरू घण्टौँसम्म काम्दै नाच्ने परम्परा छ । बाघ र बिरालोको चालको झल्को दिने विशेष धामी नाच मेलाको प्रमुख आकर्षण रहेको स्थानीय धनराज विकले बताउनुभयो ।
मेलाका सुरुका आठ दिन दैनिक देवता काम्ने, पूजाआजा गर्ने, साँझ धेवर लगाउने र सामूहिक डेउडा खेल्ने गरिन्छ । यस वर्षको कार्यक्रमअनुसार मङ्सिर ६ गते राति खला नाच्ने र मङ्सिर ७ गते केदार माडुमा ह्युम अर्थात् यज्ञ गरिनेछ । त्यस्तै, छडाल देवताको मुख्य पूजा मङ्सिर ८ गते पूर्णिमाका दिन सम्पन्न हुनेछ ।
बडी केदारनाथसँग धार्मिक सम्बन्ध
सुदूरपश्चिमको डोटेली संस्कृति र लोकपरम्परामा आधारित यस देवता नाचको डोटीस्थित प्रसिद्ध धार्मिकस्थल बडी केदारनाथसँग ऐतिहासिक तथा धार्मिक सम्बन्ध रहेको स्थानीय जानकारहरू बताउँछन् । बडी केदारनाथको एक प्रमुख शाखा तथा शक्तिका रूपमा अछामको जामामा केदारनाथको पूजाआजा गरिँदै आएको छ ।
बडी केदारनाथमा जस्तै यहाँ पनि सात्विक विधिबाट पूजा गरिन्छ । यस मन्दिरमा पशुबलि पूर्ण रूपमा निषेध गरिएको छ । भक्तजनले केदारनाथलाई दूध, घिउ र शुद्ध नैवेद्य चढाउने तथा त्यही प्रसाद ग्रहण गर्ने परम्परा छ ।

केदारनाथको दर्शन र पूजाआजा गर्नाले सन्तान, अन्न तथा पशुधन प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।मेला भर्न रोजगारी तथा बसाइँसराइका क्रममा जिल्ला बाहिर रहेका स्थानीयवासी गाउँ फर्किएका छन् । छिमेकी जिल्ला डोटी, सुर्खेत, दैलेख र कैलालीबाट समेत श्रद्धालु भक्तजन आउने क्रम सुरु भएको छ ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण जामा गाउँमा सडक पहुँच विस्तार भएसँगै दर्शनार्थी र मेला अवलोकनकर्ताको सङ्ख्या हरेक वर्ष बढ्दै गएको स्थानीय भीम खतिवडाले बताउनुभयो ।

यस वर्षको मेलामा सुदूरपश्चिमका चर्चित स्थानीय डेउडा खेलाडी तथा गायक–गायिकाको विशेष प्रस्तुति रहने भएकाले उत्सव थप उल्लासमय हुने अपेक्षा गरिएको छ ।
यसै दिन डोटीको बडी केदारनाथ र कैलालीको बर्दगोरिया गाउँपालिका–१ मुडा, कट्टीपुरमा समेत धार्मिक तथा सांस्कृतिक मेला लाग्ने गर्दछ ।







प्रतिक्रिया राख्नुहोस्