तपाईँ सुन्दै हुनुहुन्छः

उन्नत जातका गाईपालनमा बाँके र बर्दियाका किसानको आकर्षण बढ्दै

बाँके। कृषि क्षेत्रमा आत्मनिर्भरता र आयआर्जनको सम्भावना खोज्दै बाँके र बर्दियाका किसान व्यावसायिक गाईपालनतर्फ आकर्षित हुन थालेका छन् ।

उन्नत जातका गाईपालन गरी दूध उत्पादनलाई आम्दानीको मुख्य स्रोत बनाउने किसानको सङ्ख्या बढ्दै गएको छ । गाईको सङ्ख्या र दूध उत्पादनमा वृद्धि हुन थालेसँगै पशुपालनले ग्रामीण अर्थतन्त्रमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

बर्दियाको बढैयाताल गाउँपालिका–७ मैनापोखरका किसान ज्ञानेन्द्र लम्सालले व्यावसायिक गाईपालनबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ । उहाँले गत वर्ष ४६ हजार लिटर दूध बिक्री गर्नुभएको थियो । यस वर्ष दुहुना गाईको सङ्ख्या बढेकाले दूध उत्पादनसमेत वृद्धि हुने अपेक्षा गर्नुभएको छ ।

३१ वटा जर्सी गाई पाल्दै आउनुभएका लम्सालका १५ वटा गाई दुहुना छन् । उहाँका अनुसार एउटा गाईले दैनिक कम्तीमा १० लिटर दूध दिने गरेको छ । असोजदेखि फागुनसम्म दूध उत्पादनको मुख्य सिजन हो । यस अवधिमा दैनिक करिब २२० लिटर दूध उत्पादन हुने गरेको छ भने अफसिजनमा उत्पादन घटेर १२० लिटर हाराहारीमा पुग्ने गरेको छ ।

रेडियो नेपालसँग कुरा गर्दै लम्सालले दुहुना गाईको सङ्ख्या बढेसँगै दूध उत्पादन पनि बढेको बताउनुभयो । व्यावसायिक गाईपालनलाई व्यवस्थित बनाउन सके किसानका लागि नियमित आम्दानीको राम्रो आधार बन्न सक्ने उहाँको भनाइ छ ।

कोहलपुर नगरपालिका–११ चप्परगौडीका किसान छविलाल भट्टराईले पनि ४६ वटा गाई पाल्नुभएको छ । उहाँका १० वटा गाई दुहुना छन् भने २० वटा गाई गाभिनो अवस्थामा छन् । अहिले दैनिक करिब ७० लिटर दूध उत्पादन हुँदै आएको उहाँ बताउनुहुन्छ । गाभिनो गाई ब्याएपछि सिजनमा दैनिक १५० लिटरसम्म दूध उत्पादन हुने उहाँको अपेक्षा छ ।

कोहलपुर नगरपालिका–८ पिपरीका थलबहादुर खड्काको गोठमा ३२ वटा गाई छन् । तीमध्ये १३ वटा दुहुना छन् । उहाँले अहिले दैनिक करिब १०० लिटर दूध उत्पादन गर्दै आउनुभएको छ । सिजनमा दैनिक १३० देखि १५० लिटरसम्म दूध उत्पादन हुने गरेको खड्का बताउनुहुन्छ । वर्षभर औसतमा दैनिक १२० लिटर दूध उत्पादन हुने उहाँको भनाइ छ ।

चप्परगौडीकै किसान शारदा शर्मा पनि लामो समयदेखि गाईपालनमा संलग्न हुनुहुन्छ । उहाँसँग १२ वटा गाई छन् । तीमध्ये तीनवटा दुहुना र पाँचवटा गाभिनो छन् । कात्तिक–मङ्सिरमा गाभिनो गाई ब्याएपछि दूध उत्पादन बढ्ने उहाँको अपेक्षा छ ।

बर्दियाको बाँसगढीका किसान गोविन्द उपाध्यायले ४० वटा गाई पाल्नुभएको छ । तीमध्ये १२ वटा दुहुना छन् । उहाँका अनुसार अहिले दैनिक ११५ लिटर दूध उत्पादन हुँदै आएको छ भने सिजनमा दैनिक १७० लिटरसम्म उत्पादन हुने गरेको छ । उहाँका ११ वटा बाछी हुर्किंदै छन्, जसमध्ये छवटा गाभिनो छन् ।

बढैयाताल गाउँपालिका–७ मैनापोखरकी किसान मनीषासिंह थारू पनि व्यावसायिक गाईपालनमा सक्रिय हुनुहुन्छ । उहाँसँग २० वटा गाई छन् । तीमध्ये १० वटा दुहुना र पाँचवटा गाभिनो छन् । अहिले दैनिक करिब १०० लिटर दूध उत्पादन हुँदै आएको उहाँ बताउनुहुन्छ । अफसिजनमा उत्पादन केही घटे पनि सिजनमा दैनिक १५० लिटरसम्म दूध उत्पादन हुने गरेको थारूको भनाइ छ ।

बाँके र बर्दियाका किसानले उन्नत जातका गाईपालनलाई आयआर्जनको माध्यम बनाउँदै लगेका छन् । गाईको सङ्ख्यामा वृद्धि, दूध उत्पादनमा नियमितता र बजारको मागका कारण व्यावसायिक पशुपालनप्रति किसानको आकर्षण बढ्दै गएको देखिन्छ ।

पशुपालनलाई व्यवस्थित र उत्पादनमुखी बनाउन सके स्थानीयस्तरमै रोजगारी सिर्जना हुनुका साथै ग्रामीण अर्थतन्त्र सुदृढ बनाउनसमेत योगदान पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button