उदयपुरमा छठ पर्वको उल्लास : बजारदेखि नदी किनारसम्म चहलपहल तीव्र

उदयपुर । उदयपुरमा छठ पर्वको रौनक सुरु भएको छ।
छठ नजिकिँदै गर्दा जिल्लाका प्रमुख बजार क्षेत्रदेखि नदी तथा जलाशयका किनारसम्म चहलपहल बढेको हो । व्रतालुहरू पूजाका सामग्री जुटाउन व्यस्त छन् भने आयोजकहरू नदी किनारमा पूजा स्थल निर्माण, सरसफाइ र सजावटमा जुटेका छन्।
जिल्लाको सदरमुकाम त्रियुगा नगरपालिकाको गाईघाट बजारसँगै चौदण्डीगढी, बेलका र कटारी नगरपालिकाका विभिन्न क्षेत्रमा छठ पर्वको तयारी तीव्र पारिएको छ।
छठ पूजाका लागि आवश्यक सामग्री खरिद गर्ने सर्वसाधारणको चहलपहल बढेसँगै बजार क्षेत्रहरूमा समेत पर्वको छुट्टै रौनक देखिन थालेको छ।
छठका लागि आवश्यक बाँसका ढाकी (डाला), नाङ्लो, सुपली (सूप), फलफूल, पूजा सामग्री तथा प्रसाद बनाउन आवश्यक वस्तुहरूको किनमेल बढेको छ। व्रतालु परिवारहरू पूजाका सामग्री जुटाउन व्यस्त देखिन्छन् भने व्यवसायीहरूले पनि छठलाई लक्षित गरी सामग्रीको बिक्री वितरण बढाएका छन्।
उदयपुरमा विशेषगरी त्रियुगा, तावा, कमला नदी, द्वारखोला र गिदेरीगंगा लगायतका नदी तथा जलाशयका किनारमा छठ पूजा गर्ने परम्परा छ। पर्वलाई लक्षित गरी ती क्षेत्रका घाटहरूमा सरसफाइ, टेन्ट निर्माण, सजावट, बत्ती जडान तथा अन्य व्यवस्थापकीय कामलाई तीव्रता दिइएको छ। व्रतालु तथा श्रद्धालुहरूलाई सहज रूपमा पूजा गर्न सक्ने वातावरण बनाउन आयोजकहरू जुटिरहेका छन्।
उदयपुरमा छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्वसँगै यसको सामाजिक विस्तार पनि बढ्दै गएको छ। विगतमा विशेषगरी मिथिला क्षेत्रमा धुमधामका साथ मनाइने छठ पर्व पछिल्लो समय उदयपुरलगायत पहाडी तथा हिमाली क्षेत्रका विभिन्न समुदायमा समेत लोकप्रिय बन्दै गएको छ। उदयपुरमा लामो समयदेखि छठ मनाउने गरिए पनि सामूहिक रूपमा व्यवस्थित र भव्य आयोजना गर्ने अभ्यास भने २०७२ सालदेखि थप विस्तार भएको स्थानीयको भनाइ छ।
सूर्यदेव र छठी माताको आराधना गरिने यस पर्वमा व्रतालुहरूले परिवारको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै कठोर व्रत बस्ने गर्छन्। यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजा गर्ने परम्परा छ। परिवारमा सुखशान्ति कायम होस्, रोग व्याधिबाट मुक्ति मिलोस् तथा अन्नबाली र फलफूलको उत्पादन राम्रो होस् भन्ने कामनासहित श्रद्धालुहरूले सूर्यको उपासना गर्ने गर्छन्।








प्रतिक्रिया राख्नुहोस्