तपाईँ सुन्दै हुनुहुन्छः

मौलिक परम्परा जोगाउन चन्द्रनिगाहपुरमा सामूहिक देउसी–भैलो कार्यक्रमको आयोजना

रौतहट । नेपाली मौलिक परम्परा, कला, धर्म तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले रौतहटको चन्द्रनिगाहपुरमा सामूहिक देउसी–भैलो कार्यक्रम आयोजना गरिएको छ । 

नागरिक समूह चन्द्रनिगाहपुरमा आबद्ध सामाजिक अभियन्ता तथा बुद्धिजीवीहरूको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीयवासी, रौतहट क्षेत्र नं–४ का सङ्घीय सांसद गणेश पौडेल, प्रदेश सांसद समीर भट्टराई, नगर प्रमुख सञ्जय कुमार काफ्लेलगायत विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, सामाजिक अभियन्ता र उद्योगी–व्यवसायीको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले परम्परागत देउसी–भैलोमार्फत नेपाली मौलिक संस्कृति, चाडपर्व र सामाजिक एकताको महत्त्व उजागर गर्नुभएको थियो । पछिल्लो समय आधुनिक मनोरञ्जनका माध्यम र बदलिँदो जीवनशैलीका कारण मौलिक सांस्कृतिक अभ्यास ओझेलमा पर्दै गएको अवस्थामा सामूहिक देउसी–भैलोले नयाँ पुस्तालाई परम्परासँग जोड्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो ।

चन्द्रनिगाहपुरका स्थानीय राजेन्द्र तिवारीले देउसी–भैलो मनोरञ्जनको माध्यम मात्र नभई नेपाली समाजको मौलिक पहिचान र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदा भएको बताउनुभयो । 

उहाँले यस्ता कार्यक्रमलाई निरन्तरता दिन सके नयाँ पुस्ताले आफ्नो परम्परा र संस्कृतिबारे बुझ्ने अवसर पाउने धारणा व्यक्त गर्नुभयो ।

त्यसैगरी, स्थानीय प्रलाद गौतमले चाडपर्वले समाजमा आपसी सद्भाव, सहकार्य र भाइचाराको सम्बन्ध स्थापित गर्ने बताउनुभयो । राजनीतिक तथा सामाजिक रूपमा फरक विचार राख्ने व्यक्तिहरू एउटै सांस्कृतिक मञ्चमा सहभागी हुनु सकारात्मक सन्देश भएको उहाँको भनाइ थियो ।

चन्द्रपुर–४ का स्थानीय सुरेश सिंहले मौलिक संस्कृति संरक्षण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई सामूहिक अभियानका रूपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले नयाँ पुस्तामा देउसी–भैलोको परम्परा हस्तान्तरण गर्न परिवार, समाज र सामाजिक संस्थाहरूले सक्रिय भूमिका खेल्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

आयोजकका अनुसार सामूहिक देउसी–भैलोले नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षणसँगै सामाजिक एकता तथा सद्भाव अभिवृद्धिमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । विभिन्न क्षेत्र र विचारधाराका व्यक्तिहरूको सहभागिताले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको आयोजकको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button