तपाईँ सुन्दै हुनुहुन्छः

मर्यादित र अनुशासित ढङ्गले २४सै घण्टा देउसी–भैलो खेल्न पाइने 

काठमाडौँ । गृह मन्त्रालयले तिहार पर्वमा सुरक्षित, मर्यादित र अनुशासित ढङ्गले २४सै घण्टा देउसी–भैलो सञ्चालन गर्न पाउने व्यवस्था मिलाउन देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।

नेपालीहरूको मौलिक सांस्कृतिक तथा धार्मिक पर्व तिहारलाई उल्लासमय र व्यवस्थित बनाउने उद्देश्यले सचिवस्तरीय निर्णयअनुसार सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र पठाइएको हो ।

मन्त्रालयले जारी गरेको निर्देशनअनुसार मौलिक कला–संस्कृतिको संरक्षण र सामाजिक सद्भाव अभिवृद्धि हुने गरी अनुशासित रूपमा परम्परागत देउसी–भैलो खेल्न सहजीकरण गरिनेछ ।

देउसी–भैलो कार्यक्रमलाई पूर्ण रूपमा स्वैच्छिक र मर्यादित बनाउनुपर्ने तथा कसैलाई पनि जबर्जस्ती चन्दा वा दक्षिणा दिन बाध्य पार्न नपाइने व्यवस्था कडाइका साथ लागू गर्न भनिएको छ ।

यसैगरी कुनै पनि जातजाति, धर्म, भाषा, लिङ्ग वा समुदायप्रति घृणा तथा द्वेष फैलाउने खालका अश्लील गीत, सङ्गीत, नृत्य वा नाराहरूको प्रयोगमा पूर्ण रोक लगाउन प्रशासनलाई निर्देशन दिइएको छ ।

चाडपर्वका नाममा जुवातास खेल्ने, सार्वजनिक स्थलमा मदिरा सेवन गरी होहल्ला गर्ने तथा मादक वा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने गतिविधि नियन्त्रण गर्न विशेष निगरानी राखिनेछ ।

ध्वनि प्रदूषण नियन्त्रणका लागि अत्यधिक ठूलो आवाजमा साउन्ड सिस्टम तथा ध्वनि उपकरणहरू बजाउन रोक लगाइएको छ। विशेष गरी अस्पताल र वृद्धाश्रमजस्ता संवेदनशील क्षेत्र वरपर देउसी–भैलो खेल्दा विशेष सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

साथै, सार्वजनिक तथा निजी सम्पत्तिको संरक्षण गर्दै जथाभाबी फोहोरमैला नगरी वातावरणीय स्वच्छता कायम राख्न पनि सबैमा अनुरोध गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button