तपाईँ सुन्दै हुनुहुन्छः

काठमान्डु गोर्खाज १० रनले विजयी हुँदै एनपिएलको शीर्ष स्थानमा उक्लियो

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको खेलमा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई १० रनले पराजित गरेको छ । जितसँगै काठमान्डु गोर्खाज एनपिएलको शीर्ष स्थानमा उक्लिएको छ ।

काठमान्डु गोर्खाजले चितवनलाई १८१ रनको लक्ष्य दिएकोमा सात विकेट गुमाएर १७० रन बनाउन सफल भयो। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमान्डुले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८० रन बनाएको थियो ।

काठमान्डुका लागि रसिद खानले अर्धशतकीय पारी खेले । उनले आज ३० बलमा चार छक्का र दुई चौकासहित ५२ रनको पारी खेलेका हुन् । जारी एनपिएलमा रसिदको यो दोस्रो अर्धशतक हो । 

यस्तै, चितवनविरुद्ध सहान अराच्चिगेले ३३, विलियम बोसिस्टोले २७ र कप्तान करण केसीले २० रन जोडे । चितवनका लागि बलिङतर्फ रिजन ढकालले ३, कप्तान सिकन्दर रजा र कमलसिंह ऐरीले २–२ र डान मोस्लीले १ विकेट लिए । 

चितवन राइनोजका लागि रवि बोपाराले अर्धशतकीय पारी खेले । उनले ३५ बल खेल्दै २ चौका र ३ छक्का मदतमा सर्वाधिक ५५ रन बनाए ।

यस्तै डान मोस्लीले २९, ओपनर किमल मिसराले २८ र विकेटकिपर अर्जुन साउदले २३ रन बनाए । कुशल मल्ल १३ रनमा आउट भए । विवेककुमार यादव ४ रनमा रनआउट भए ।

कप्तान सिकन्दर राजा २ रन बनाएर आउट भए । उनलाई यसै खेलमाबाट एनपिएलमा डेब्यु गरेका काठमान्डुका खेलाडी गणेश गौतमले आउट गरे । 

योसँगै काठमान्डुले ५ खेलबाट ८ अङ्क जोडेर शीर्ष स्थानमा उक्लेको हो । यस जितपछि काठमान्डु प्लेअफको निकै नजिक पुगेको छ । चितवनको भने ५ खेलमा यो दोस्रो हार हो र ५ अङ्कसहित चौथो स्थानमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button