तपाईँ सुन्दै हुनुहुन्छः

बेगनास फिस फेस्टिभलले दियो पर्यटन, संस्कृति र मौलिकताको सन्देश

पोखरा । ‘माछाको स्वाद, संस्कृतिको पहिचान, हाम्रो मौलिकताको सम्मान’ भन्ने नारासहित पोखरा महानगरपालिका–३१ स्थित बेगनास ताल किनारमा आयोजित छैटौँ बेगनास फिस फेस्टिभल तथा देउसीभैलो प्रतियोगिताले स्थानीय उत्पादनको प्रवद्र्धन, मौलिक संस्कृतिको संरक्षण र पर्यटन विकासको सन्देश दिएको छ ।

होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको आयोजनामा कात्तिक १३ गतेदेखि सञ्चालन भएको महोत्सव भोलि कात्तिक २३ गते विशेष समारोहबीच समापन हुँदैछ । महोत्सवको समापन रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले गर्ने कार्यक्रम रहेको होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथकी महासचिव शक्तिश्री कोइरालाले जानकारी दिइन् ।

महोत्सवमा एक सय १० वटा व्यापारिक तथा प्रदर्शनी स्टल राखिएका थिए । आयोजकका अनुसार अपेक्षा गरेभन्दा बढी व्यापारिक कारोबार भएको व्यवसायीहरूले बताएका छन् । स्थानीय उत्पादन, कृषि उपज, माछाका विभिन्न परिकार तथा व्यावसायिक सामग्रीको प्रदर्शनी र बिक्रीले स्थानीय आर्थिक गतिविधिलाई समेत चलायमान बनाएको छ ।

महोत्सवअन्तर्गत आयोजित देउसीभैलो प्रतियोगितामा १६ समूहको सहभागिता रहेको थियो । प्रतियोगितामा साधना कला भजन मण्डली प्रथम, किम्बेशी गोरखनाथ महिला समूह पोखरा–३१ द्वितीय र बाघढुङ्गा विकास संस्था तृतीय भएका छन् । त्यसैगरी वयरपाके महिला कृषक समूह पोखरा–३१ र स्याङ्खुदी सिर्जनशील महिला समूहले सान्त्वना स्थान हासिल गरेका छन् ।

प्रतियोगिताका विजयी समूहलाई नगद पुरस्कार, प्रमाणपत्र तथा सम्मानपत्र प्रदान गरिएको देउसीभैलो प्रतियोगिता संयोजक प्रतीक्षा रानाभाटले जानकारी दिइन् । प्रतियोगिताको निर्णायक मण्डलमा पदमराज ढकाल, जीवन दाहाल र शिवहरि ढुङ्गाना रहेका थिए ।

महोत्सवमा माछाका विभिन्न प्रजातिको प्रदर्शनी, स्थानीय माछाबाट तयार पारिएका परिकारको बिक्री तथा प्रदर्शनी, बेगनास तालमा माछाका भुरा छाड्ने कार्यक्रम, मोती खेतीसम्बन्धी जानकारी, बाल उद्यान, झाँकी ¥याली तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएका थिए । राष्ट्रिय कलाकारहरूको साङ्गीतिक प्रस्तुति र युवालाई लक्षित पप कन्सर्टले महोत्सवलाई थप आकर्षक बनाएको थियो ।

शनिबार आयोजित साङ्गीतिक कार्यक्रममा राष्ट्रिय लोकदोहोरी कलाकार जीवन दाहाल, शिवहरि ढुङ्गाना, शान्तारानी परियार, शंकर विरही, राजेश बर्देवा, प्रेमराज अधिकारी, नवराज अधिकारी, लक्ष्मी नेपाली र अक्षता सापकोटालगायतले प्रस्तुति दिएका थिए ।

महोत्सवले मनोरञ्जन र व्यापारिक गतिविधिमा मात्र सीमित नभई स्थानीय कला, संस्कृति, कृषि र पर्यटनलाई एउटै मञ्चमा जोड्ने काम गरेको छ । देउसीभैलो प्रतियोगिताले तिहारको मौलिक सांस्कृतिक परम्पराको संरक्षणमा सहयोग पुर्याएको छ भने झाँकी तथा र्‍यालीले स्थानीय समुदायबीच एकता र सद्भावको सन्देश प्रवाह गरेको छ ।

त्यसैगरी कृषकले उत्पादन गरेका तरकारी तथा अन्य कृषि उपजको खरिद–बिक्री, स्थानीय माछाको बजारीकरण र विभिन्न उत्पादनको प्रदर्शनीले स्थानीय उद्यमशीलता तथा व्यावसायिक प्रवद्र्धनमा टेवा पुर्याएको आयोजकको विश्वास छ ।

बेगनास ताल आसपासका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने, स्थानीय माछाका विभिन्न प्रजातिलाई पहिचान र ब्रान्डका रूपमा विकास गर्ने, परम्परागत नेपाली गीत–सङ्गीतको संरक्षण गर्ने तथा होटल तथा रेस्टुरेन्ट व्यवसायलाई थप चलायमान बनाउने महोत्सवको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।

महोत्सवमा स्थानीय माछाका प्रजातिसँगै मोती खेतीसम्बन्धी जानकारीमूलक प्रदर्शनीले जलस्रोतमा आधारित सम्भावनाको पहिचान गराउनसमेत सहयोग पुगेको छ । बेगनास तालको प्राकृतिक सुन्दरता, स्थानीय खानपान, संस्कृति र उत्पादनलाई पर्यटनसँग जोड्न सके यस क्षेत्रको आर्थिक विकासमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।

पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार, गोर्खा ब्रुअरी नेपाललगायत सरकारी तथा निजी क्षेत्रका विभिन्न निकायको सहयोगमा सञ्चालित महोत्सवले बेगनास क्षेत्रको पहिचानलाई राष्ट्रियस्तरमा प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button