तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बन्द प्रशिक्षणको सुरु

सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीहरूलाई बन्द प्रशिक्षणमा राख्न आजदेखि सुरु गरेको छ । 

बन्द प्रशिक्षणको औपचारिक शुभारम्भ गर्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीतबहादुर मल्लले पदक जित्ने गरी तयारी अभ्यास गर्न खेलाडीहरूलाई सुझाव दिनुभयो । 

खेलाडीको तयारी र प्रशिक्षणमा बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाउँदै उहाँले पदक हासिल गर्ने लक्ष्यसहित योजनाबद्ध रूपमा जुट्न आग्रह गर्नुभयो । 

पहिलो चरणमा ह्यान्डबल र ब्याटमिन्टिन खेलका खेलाडीहरूलाई बन्द प्रशिक्षणमा राखिएको छ । ह्यान्डबलका ३४ जना र ब्याडमिन्टनका १२ जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको परिषद्का सदस्य सचिव रविन्द चन्दले जानकारी दिनुभयो । 

खेलाडीहरूले दैनिक २ पटक अभ्यास खेल खेल्नुपर्ने भएका कारण यसपालिको तिहारमा बिदा दिइएको छैन । परिषद्का अनुसार खेलाडीहरूलाई मङ्सिर १४ गतेसम्म बन्द प्रशिक्षणमा राखिने छ । 

आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ७ प्रदेश, ३ विभागीय टोली र गैर आवासीय नेपाली सङ्घसहितका टोलीले प्रतिस्पर्धा गर्नेछन् । ३२ खेल विधा समावेश गरिएको प्रतियोगिताको उद्घाटन मङ्सिर १६ गते हुनेछ भने प्रतियोगिता मङ्सिर २७ गतेसम्म सञ्चालन हुनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button