तपाईँ सुन्दै हुनुहुन्छः

कृषि श्रमिक अभावमा सोलुखुम्बुका किसानलाई धान भित्र्याउन सकस

तस्बिर : नेचासल्यानको बेँसी खेतमा धान/  सन्तोष राउत

सोलुखुम्बु । सोलुखुम्बुका ग्रामीण क्षेत्रमा धान पाकेर पहेँलपुर भएपछि किसानलाई धान काट्न र भित्र्याउन भ्याइनभ्याई भएको छ । तर, कृषि श्रमिकको अभाव हुँदा धान भित्र्याउन समस्या भएको छ । 

जिल्लाका विभिन्न स्थानका खेतमा धान काट्नेको चहलपहल निकै बढेको भए पनि काम गर्ने मान्छे नपाउँदा समस्या भइरहेको कृषकहरू बताउँछन् ।

जिल्लाको सल्यान, नेचाको तल्लो क्षेत्र, काँगेल, पञ्चन, जुबु, मुक्ली, देउसालगायतका स्थानमा धान थन्क्याउने चटारोले कृषकलाई मारामार छ । सिँचाईको सुविधा भएको रोगको प्रकोप नभएको क्षेत्रमा भने धानको उत्पादनमा सन्तोषजनक उत्पादन भएको अनुमान गरिएको छ । 

नेचासल्यान–१ का कुलबहादुर बस्नेत वर्षाले रोकिएको धान भित्र्याउने काम अब धमाधम भइरहेको भए पनि काम गर्ने मान्छे नपाउँदा धान  भित्र्याउन ढिला भएको बताउनुहुन्छ । “समयमा धान नथन्काएमा असिना आउन सक्छ र सबै वर्ष दिन खाने खेती स्वाहा हुन्छ” उहाँले भन्नुभयो । यसपटक दशैँ सकिए लगत्तै खेतमा धान काट्न थालेको भएपनि केही दिनको झरीले ढिला भएको उहाँको भनाइ छ । अचेल चाहिँ मौसम राम्रो भएकाले कुनै समस्या नभएको कृषकहरू बताउँछन् ।

तस्बिर : नेचासल्यानको बेँसी खेतमा धान/  सन्तोष राउत

अर्का किसान डाकबहादुर राउत पनि वर्षभरिको लागि खाने बाली धान भित्र्याउन कामदार नपाएर हैरान भएको बताउनुभयो । धमाधम एकैसाथ धान पाकेकाले काम गर्ने मानिसको अभाव भएको उहाँले सुनाउनुभयो । किसानलाई धान काट्नेसँगै पराल थन्काउने कामको पनि भ्याइनभ्याई छ । 

मौसम जुनसुकै बेला प्रतिकुल हुन सक्ने भएकाले असिना पानी पर्ने डरले भान भित्र्याउने समयमा किसान निकै चिन्तित हुन्छन् । पछिल्ला वर्षहरुमा चाँडो गरी धान लगाउन थालेकोले धान छिटै पाकेको पनि कृषकहरूको भनाइ छ । 

विगतका वर्षको तुलनामा समयमा पानी परेको तथा धानमा लाग्ने रोगको प्रकोप खासै नदेखिएका कारण यस वर्ष धान उत्पादनमा केही वृद्धि भएको कृषकहरूको भनाइ छ । 

हाल सोलुखुम्बुमा १ हजार ६२५ हेक्टरमा धान खेती गर्ने गरेको तथ्याङ्क छ । जिल्लाका कृषकहरूले मोटा धानका रुपमा दुधेमार्सी, ताइचिन, मकवानपुरे, दोलाखे, पोखरेलीलगायत जातका धान र मसिनो धानहरू लगाउँछन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button