एनपिएलः विराटनगरद्वारा काठमाण्डुसामु ८४ रनको लक्ष्य

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आजको दोस्रो खेलमा विराटनगर किङ्ग्सले काठमाण्डु गोर्खाजसामु ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १८.३ ओभरमा ८३ रनमै सबै विकेट गुमायो । विराटनगरका लागि रुपेश सिंहले २६, एन्जेलो म्याथ्युजले २२ र बसिर अहमदले १० रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
बलिङतर्फ काठमाण्डुका लागि सन्तोष यादवले ३, सहान अराच्चिगे र जहानदाद खानले २–२ तथा साहब आलम, कप्तान करण केसी र देव साहले एक एक विकेट लिए । अहिले काठमाण्डु गोर्खाजले जवाफी ब्याटिङ गरिरहेको छ । उसले तीन ओभरमा एक विकेट गुमाएर १८ रन बनाएको छ ।
जारी संस्करणमा विराटनगरले चार खेल खेलिसकेको छ । उसले २ खेलमा जित र २ खेलमा पराजय व्यहोरेको छ । विराटनगर ताजा स्थितिमा चार अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । तालिकाको सातौँ स्थानमा रहेको काठमाण्डु गोर्खाजले दुई खेल खेल्दा एकमा जित र एकमा हारको सामना गरेको छ ।
यसअघि आजै भएको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको थियो । रासस








प्रतिक्रिया राख्नुहोस्