हिमाल र जलवायुका विषय प्राथमिकताका साथ उठाउँछौ : मन्त्री चौधरी

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले यही कार्तिक २३ गतेबाट हुने कोप सम्मेलनमा नेपालको हिमाल र जलवायुका विषयलाई प्राथमिकताका साथ उठान गरिने बताउनुभएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा आज कोप सम्मेलनको सन्दर्भमा विभिन्न सञ्चार माध्यमका सम्पादकहरूसँग अन्तर्क्रिया गर्नुहुँदै मन्त्री चौधरीले यस पटकको कोप सम्मेलनमा जलवायु, हिमाल र यसले पारेका बहुस्तरका प्रभावका बारे तथ्य प्रमाणका आधारमा प्रभावकारी रुपमा विषयहरूको उठान गर्ने तयारी रहेको बताउनुभयो ।
जलवायु परिवर्तनसँग सम्बन्धित विषयहरूको उठान गर्न सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको भन्नुहुँदै मन्त्री चौधरीले नेपालको कूटनीतिक क्षमतालाई थप बलियो र प्रभावकारी बनाउन चाडै वार्ता टोली गठन गरिने पनि जानकारी गराउनुभयो ।
सो अवसरमा सहभागी नेपाल स्थित विभिन्न सञ्चार संस्थामा आवद्ध सम्पादकहरूले सम्मेलनमा जलवायु परिवर्तनले पारेका प्रभाव तथा असर, जलवायु न्यायका साथै देशसँग भएका बलियो पक्षहरूलाई पनि जोड दिई अन्तर्राष्ट्रिय उपस्थिति बलियो बनाउन सकिने सुझाव दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्