व्यक्तिभन्दा नीति देशभर पुग्नुपर्छ: सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रमा निर्वाचित जनप्रतिनिधिभन्दा नीति पुग्नुपर्ने बताउनुभएको छ ।
भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै सभापति लामिछानेले आफू चितवन ढिला आए पनि यहाँ नीतिगत कामहरू भइरहेको बताउनुभयो । “जिम्मेवारी धेरै छ । तर व्यक्तिभन्दा सिस्टम आउनुपर्छ भन्ने सोचका कारण व्यक्तिका रुपमा म ढिला आए पनि सरकारको रुपमा, पार्टीको रुपमा पार्टीको संरचना, सरकारका नीतिहरू देशभरी पुगिरहेका छन्”, उहाँले भन्नुभयो, “हाम्रो उद्देश्य पनि त्यही हो । व्यक्ति आउनुभन्दा पनि नीति आउनु पर्यो । राज्यको नीति आउने क्रम जारी छ ।”
चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका सभापति लामिछाने शुक्रवारसम्म चितवनका विभिन्न कार्यक्रममा सहभागी हुन आज यहाँ आउनुभएको हो । रास्वपा चितवनका सभापति इन्जिनियर मिनिमाधव खनालका अनुसार चितवन आएलगत्तै सभापति लामिछाने आज पार्टी कार्यालयमा जिल्ला, क्षेत्र र स्थानीय तहका पदाधिकारीहरूसँग सङ्गठनात्मक छलफलमा सहभागी हुनुहुने छ ।
सभापति लामिछानेले शुक्रबार बिहान नारायणी नदी किनारको कटान क्षेत्रको अवलोकन तथा सम्बन्धित पक्षसँग छलफल गर्ने कार्यक्रम छ । रासस







प्रतिक्रिया राख्नुहोस्