तपाईँ सुन्दै हुनुहुन्छः

नरैनापुरमै सुरु भयो जग्गा पास सेवा, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

बाँके । बाँकेको विकट क्षेत्रका रूपमा चिनिँदै आएको नरैनापुर गाउँपालिकामा अब जग्गा पास, कित्ताकाट र नामसारीलगायत भूमि प्रशासनसम्बन्धी सेवा पूर्ण रूपमा सञ्चालनमा आएका छन् । यसअघि यी सेवा लिन जिल्ला सदरमुकाम तथा भूमि प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता रहेकामा गाउँपालिकाले आज बिहीबारदेखि आफ्नै कार्यालयबाट सेवा प्रवाह सुरु गरेको हो ।

गाउँपालिकाले भूमि प्रशासनसम्बन्धी छुट्टै शाखा स्थापना गरी जग्गा पास, कित्ताकाट, नामसारी लगायत सेवा सञ्चालनमा ल्याएको हो । शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले अब स्थानीय नागरिकले जग्गासम्बन्धी कामका लागि टाढा जानुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो ।

उहाँले लामो समयदेखि सामान्य जग्गासम्बन्धी कामका लागि समेत सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै स्थानीय तहमै सेवा उपलब्ध हुँदा नागरिकको समय, खर्च र झन्झट कम हुने विश्वास व्यक्त गर्नुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले देशभरको ३४औँ शाखाका रूपमा नरैनापुरमा भूमि व्यवस्थापन शाखा स्थापना गरी सेवा सञ्चालन गर्न सफल भएको बताउनुभयो । उहाँले आवश्यक जनशक्ति तथा प्राविधिक व्यवस्थापन मिलाएर सेवालाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउँदै लगिने जानकारी दिनुभयो ।

सेवा शुभारम्भकै अवसरमा पहिलो सेवाग्राहीका रूपमा नरैनापुर–५ का विनय दीक्षित र नरैनापुर–४ का एक सेवाग्राहीलाई लालपुर्जा प्रदान गरिएको थियो । आफ्नै गाउँपालिकाबाट भूमि प्रशासनसम्बन्धी सेवा पाउन थालेपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन् ।

कुनै समय भौगोलिक विकटता र सहज यातायात पहुँचको अभावका कारण विकास तथा सरकारी सेवा सुविधामा पछाडि परेको नरैनापुर पछिल्लो समय बिस्तारै सडक सञ्जालमार्फत जिल्ला सदरमुकामसँग जोडिँदै गएको छ । सडक पहुँच विस्तारसँगै स्थानीय तहमै सरकारी सेवा थपिन थालेपछि यहाँका नागरिकको प्रशासनिक पहुँचसमेत सहज बन्दै गएको छ ।

यसअघि प्रमुख प्रशासकीय अधिकृत वलीकै पहलमा केही दिनअघि गाउँपालिकामा करदाता सेवा केन्द्रसमेत सञ्चालनमा ल्याइएको थियो । छोटो अवधिमा भूमि व्यवस्थापन शाखा र करदाता सेवा केन्द्र सञ्चालनमा आउनुले स्थानीय नागरिकलाई सरकारी सेवा आफ्नै घरआँगनमा उपलब्ध गराउने प्रयासलाई थप गति दिएको छ ।

गाउँपालिकाका लेखा अधिकृत प्रकाश अधिकारीले स्थानीय तहबाटै सेवा सञ्चालन हुँदा विशेषगरी ग्रामीण क्षेत्रका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने बताउनुभयो । उहाँका अनुसार यसले नागरिकको प्रशासनिक पहुँच सहज बनाउनुका साथै सेवा लिन लाग्ने समय र खर्चसमेत घटाउनेछ ।

सेवा शुभारम्भ कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष मसूद अहमद शाह, वडा नम्बर ४ का अध्यक्ष मनोज शर्मा, अलेपा सागर आचार्य, सूचना प्रविधि अधिकृत जुना शाहीसहित गाउँपालिकाका कर्मचारी तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।

वर्षौंदेखि भौगोलिक विकटता र प्रशासनिक पहुँचको कठिनाइ झेल्दै आएको नरैनापुरमा सडक सञ्जालसँगै सरकारी सेवाको विस्तार हुन थालेको छ । स्थानीयस्तरमै भूमि प्रशासन र करदाता सेवा सञ्चालनमा आउनुले दुर्गम क्षेत्रका नागरिकलाई राज्यका सेवा र सुविधासँग नजिक ल्याउने प्रयासलाई थप बल पुर्याएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button