मधेश प्रदेशका बालबालिका तथा गर्भवती महिलामा ५० प्रतिशत रक्तअल्पता

जनकपुरधाम । मधेश प्रदेश जिल्लाहरूमा गर्भवती महिला तथा बालबालिकाहरूमा ५० प्रतिशतले रक्त अल्पताको समस्या रहेको छ ।
मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयले आयोजना गरेको तीन दिवसीय प्रदेश स्तरीय समीक्षा कार्यक्रममा सहभागी स्वास्थ्य क्षेत्रका विज्ञहरुले रक्त अल्पता कारणले स्वास्थ्यका अन्य क्षेत्रमा नकारात्मक असर पारेकाले यसमा सुधारका लागि सामूहिक प्रयासमा जोड दिनु भएको हो ।
मधेश प्रदेशमा रक्त अल्पताका कारणले मातृ शिशु मृत्युदर उच्च रहनुका साथै कुपोषणको अवस्था अन्य प्रदेशको तुलनामा बढी भएकाले यसको समाधानका लागि पोषण सम्बन्धि नीति संवाद कार्यक्रममा जोड दिइएको छ । रक्त अल्पताको समाधानका लागि आइरन चक्कीको प्रयोगमा वृद्धि गर्नु पर्ने र खाना खाने बानीमा सुधारका लागि स्वास्थ्यकर्मीहरुले थप मेहनत गर्नुपर्ने आवश्यकतामा विज्ञले जोड दिनु भयो ।
तीन दिने समीक्षाको आज सम्पन्न भएको समापन कार्यक्रममा मधेश प्रदेशका जिल्लाहरूमा केही सङ्ख्यामा मलेरियाका बिरामी देखा परेपनि मलेरिया रोगी बाहिरबाट आएको भन्दै रोगप्रति सजगता हुनु पर्नेमा जोड दिनु भयो । मधेश प्रदेशका जिल्लाहरूमा रगतको सहज आपूर्तिका लागि ब्लड बैकको स्थापनामा जोड दिनुका साथै क्षयरोग पत्ता लगाउने दर अन्य प्रदेशका तुलनामा राम्रो रहेको र प्रदेशको ५ स्थानीय तहमा शल्य क्रियासहितको प्रसूति सेवा भएपनि अन्य पालिकामा विस्तार हुनु पर्नेमा सहभागीहरूले जोड दिनु भएको मधेश प्रदेशका स्वास्थ्य निर्देशक डा. नवल झाले जानकारी दिनु भयो ।
जिल्लाहरूको प्रादेशिक अस्पतालहरूको दरबन्दीमा रहेका स्वास्थ्यकर्मीहरूलाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काजमा ल्याएकाले जिल्लामा आम जनतालाई स्वास्थ्य सेवा दिनका लागि चुनौती भएको सहभागी प्रादेशिक अस्पतालहरूका प्रमुखले जानकारी दिनु भयो ।
मधेश प्रदेशका १३६ पालिका मध्ये उत्कृष्ट स्वास्थ्य सेवा दिने सर्लाहीको लालबन्दी नगरपालिका पुनः प्रथम स्थान प्राप्त गरेको छ भने सर्लाहीकै विष्णुपुर गाउँपालिका द्वितीय, रौतहटको बौधिमाई नगरपालिका तृतीय भएका छन् । यसै गरि प्रादेशिक अस्पताल मध्ये प्रादेशिक अस्पताल जनकपुरधाम प्रथम, बारा दोस्रो र गौर तेस्रो स्थान प्राप्त गरेका छन् ।
यसै गरि स्वास्थ्य कार्यालय मध्ये पर्सा प्रथम, सर्लाही द्वितीय र धनुषा तृतीय भएका छन् । आयुर्वेद तर्फ पर्सा प्रथम भएका छन् । मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा प्रमोद यादवले सम्मानपत्र सहित प्रथम, द्वितीय र तृतीय हुने निकायलाई दोसल्ला ओढाएर पुरस्कृत गर्नु भएको थियो । कार्यक्रममा बोल्दै सचिव डा. यादवले मधेश प्रदेशको स्वास्थ्य क्षेत्रको चुनौतीको रुपमा रहेको रक्त अल्पताको समाधानका लागि सामूहिक प्रयास आवश्यक भएको बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्