तपाईँ सुन्दै हुनुहुन्छः

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त महानिरीक्षक केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक डा मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गृह मन्त्रालयमा आज प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्नबाट सुशोभित भएपछि संक्षिप्त सम्बोधन गर्दै उहाँले संविधान र कानुनप्रति अविचलित रहिरहने प्रण व्यक्त गर्नुभयो । 

प्रहरी सङ्गठनको मर्यादा र निष्पक्षतामा आफूले कुनै सम्झौता नगर्ने उद्घोष गर्दै महानिरीक्षक केसीले जनतासँगको सम्बन्धलाई प्रहरी सङ्गठनको महत्त्वपूर्ण पुँजीमा रूपमा औँल्याउनुभयो । “आजैदेखि हामी सबै मिलेर कर्तव्यबाट सेवा प्रवाहसम्मको यात्रा सुरु गरौँ, जहाँ नागरिकले प्रहरी देख्दा डर होइन, भरोसा महसुस गरुन्, प्रत्येक प्रहरीले आफ्नो बर्दीमा गर्व गर्न सकोस्”, उहाँले भन्नुभयो । 

उहाँले आधारभूत तहलगायत सम्पूर्ण प्रहरी कर्मचारीको गुनासो सुन्न आफ्नै सचिवालयमा तत्काल उच्चस्तरीय संयन्त्र सुरु गर्ने घोषणा गर्नुभयो । प्रहरी महानिरीक्षक केसीले सीमित स्रोत साधन, भवनको अभाव, लामो कार्यघण्टा, सरुवा बढुवामा निष्पक्षता र मानसिक स्वास्थ्यलगायत पक्षमा आफू गम्भीर भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

आवश्यक स्रोत साधन, कानुनी स्पष्टता, कार्यगत स्वायत्तताका लागि सरकारसँग आग्रह गर्दै प्रहरी महानिरीक्षक केसीले प्रहरी सङ्गठनलाई दलीय प्रभावबाट मुक्त राख्नका लागि राजनीतिक दलबाट सहयोगको अपेक्षा गर्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button