भद्रपुरमा ‘विद्यार्थी महोत्सव’ सुरु
झापा । झापाको सदरमुकाम भद्रपुरमा विद्यार्थीको प्रतिभा, सिर्जना, सीप तथा क्षमतालाई उजागर गर्ने उद्देश्यले आजदेखि तीन दिने ‘विद्यार्थी महोत्सव’ सुरु भएको छ ।

भद्रपुर नगरपालिकाले स्थापनाको ७५औँ वर्ष (हीरक महोत्सव)–को सन्दर्भ पारेर विद्यार्थी महोत्सव आयोजना गरेको हो ।
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल र उपप्रमुख राधा कार्कीले एक समारोहबिच महोत्सवको उद्घाटन गर्नुभयो ।
‘सीप, सिर्जना र प्रतिभाको उत्सव, समृद्ध भविष्यका लागि विद्यार्थी महोत्सव’ भन्ने नाराका साथ भद्रपुर–८ स्थित मेची रङ्गशालामा सुरु भएको महोत्सव २० गतेसम्म सञ्चालन हुने नगरप्रमुख गणेश पोखरेलले जानकारी दिनुभयो ।
विद्यार्थीमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने, सिर्जनात्मक क्षमता विकास गर्ने तथा विद्यालयबिच अनुभव र सिकाइ आदानप्रदान गर्ने अभिप्रायका साथ महोत्सव आयोजना गर्न गरिएको पनि नगरप्रमुख पोखरेलले बताउनुभयो ।
महोत्सवमा खेलकुद, लोक सांस्कृतिक नृत्य, विज्ञान प्रदर्शनी, चित्रकला, हेण्ड राइटिङ, हाजिरी जवाफ, चेस, कविता तथा वक्तृत्वकला प्रतियोगितासहित विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ । महोत्सवमा नगरभित्रका २७ सामुदायिक र ३१ संस्थागत गरी ५८ वटा विद्यालयले सहभागिता जनाएको नगर शिक्षा प्रमुख पवित्रा ढकालले जानकारी दिनुभयो ।
महोत्सव सम्पन्न गर्न करिब १० लाख रुपैयाँ लाग्ने र सहभागी उत्कृष्ट विद्यार्थीहरूलाई नगदसहित पुरस्कृत गरिने जनाइएको छ ।







प्रतिक्रिया राख्नुहोस्