तपाईँ सुन्दै हुनुहुन्छः

सूर्योदय नगरपालिकामा भूमि प्रशासन सेवा सुरु, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

इलाम । इलामको सूर्योदय नगरपालिकामा आजदेखि भूमि प्रशासन (मालपोत तथा नापी) सेवा औपचारिक रूपमा सुरु भएको छ। सेवा सञ्चालनमा आएसँगै जग्गा प्रशासनसम्बन्धी कामका लागि इलाम सदरमुकाम धाउनुपर्ने नगरवासीको लामो समयदेखिको बाध्यता अन्त्य भएको छ।

भूमि प्रशासन सेवाको शुभारम्भ प्रतिनिधिसभा सदस्य निष्कल राईको प्रमुख आतिथ्यता र सूर्योदय नगरपालिकाका कार्यवाहक नगरप्रमुख दुर्गा बरालको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा कार्यवाहक नगरप्रमुख बरालले स्थानीय तहमै सेवा सञ्चालन भएपछि नगरवासीलाई ठूलो सहजता मिल्ने बताउनुभयो। उहाँले सेवालाई चुस्त, दुरुस्त र पारदर्शी बनाउन सबै सरोकारवालाको सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो।

कार्यालय सञ्चालन भएसँगै अब जग्गासम्बन्धी प्रशासनिक कामकाजका लागि लाग्ने समय, यात्रा खर्च र झन्झट उल्लेख्य रूपमा घट्ने अपेक्षा गरिएको छ। उक्त सेवा सूर्योदय नगरपालिकाको माथिल्लो भवनबाट सञ्चालन हुनेछ।

स्थानीय विक्रम श्रेष्ठका अनुसार नगरमै मालपोत र नापी सेवा सञ्चालन हुनु सूर्योदय नगरवासीका लागि ठूलो उपलब्धि हो। जग्गासम्बन्धी प्रशासनिक कामका लागि टाढा जानुपर्ने झन्झट हटेर आफ्नै नगरबाट सहज, सरल र छरितो सेवा पाउने विश्वास स्थानीयले व्यक्त गरेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button