तपाईँ सुन्दै हुनुहुन्छः

संसदीय छलफलबाट कानुन ल्याउँदा उपयुक्त हुन्छ: सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सम्भव भएसम्म संसदीय छलफलबाटै कानुन निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । संविधानले दिएको अधिकार प्रयोग गरी सरकारले अध्यादेश ल्याउन सक्ने भए पनि सम्भव भएसम्म जनताको सर्वोच्च थलो संसद्बाट पर्याप्त छलफल गरी कानुन निर्माण गर्न उपयुक्त हुने धारणा उहाँले व्यक्त गर्नुभयो ।

“संविधानले दिएको अधिकार प्रयोग गरेर अध्यादेश ल्याउने कुरालाई अन्यथा मान्नु हुँदैन । आवश्यकताका आधारमा राज्यले गर्ने निर्णयलाई सम्मान गर्नुपर्छ”, सञ्चारकर्मीसँग आज कुरा गर्दै आज उहाँले भन्नुभयो, “तर सदन चलाउन हामी तयार छौँ । सम्भव भएसम्म धेरैभन्दा धेरै छलफल सदनमै गरेर कानुन निर्माण गर्दा राज्यका सबै निकाय र नागरिकका लागि उपयुक्त हुन्छ ।”

कानुन निर्माणअघि धेरैभन्दा धेरै सरोकारवालाबीच बहस र छलफल हुनुपर्ने उहाँको भनाइ छ ।  संसद्मा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्र र जनताका विषय उठाउन पाउने तथा छलफलबाट बनेको कानुन बढी प्रभावकारी हुने उहाँले बताउनुभयो । सरकारले कतिपय महत्त्वपूर्ण विषयका कानुन अध्यादेशमार्फत ल्याउन लागेको भन्ने चर्चाका बीच सभामुख अर्यालको सो भनाइ आएको हो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button