तपाईँ सुन्दै हुनुहुन्छः

चक्रवात ‘अर्नब’को प्रभावले रौतहटको जनजीवन प्रभावित

रौतहट । चक्रवात ‘अर्नब’को प्रभावका कारण रौतहटमा जनजीवन प्रभावित भएको छ । बिहीबार साँझदेखि सुरु भएको वर्षा शुक्रबार दिनभर जारी रहँदा सर्वसाधारणको दैनिक गतिविधि प्रभावित भएको हो ।

निरन्तरको वर्षाका कारण ग्रामीण क्षेत्रका किसान खेतबारीमा जान सकेका छैनन् । खेतमा पाकेर काट्न तयार भएको धानबाली भित्र्याउने कामसमेत प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाले समयमै सचेत गराएकाले केही किसानले सम्भावित वर्षालाई ध्यानमा राख्दै थोरै मात्रामा धान काटेर सुरक्षित राख्न सकेका छन् । तर, वर्षा नरोकिएका कारण पशु चौपायाका लागि घाँस तथा अन्य आहारको जोहो गर्न नसकिएको किसानको गुनासो छ । 

वृन्दावन नगरपालिकाका स्थानीय रामदेनी राउतका अनुसार निरन्तरको वर्षाले खेतीपातीको काम ठप्प भएको छ । धान काट्ने र खेतबारीमा गर्नुपर्ने अन्य काम रोकिँदा किसान थप समस्यामा परेका छन् । त्यस्तै, स्थानीय शम्भु पटेलले वर्षाका कारण दैनिक जनजीवन कष्टकर बनेको बताउनुभयो । उहाँका अनुसार खेतमा काम गर्न नपाउनुका साथै पशु चौपायाका लागि घाँस तथा आहार जुटाउनसमेत कठिन भएको छ । 

स्थानीय सुरेश राउतले वर्षाका कारण बजारसमेत प्रभावित भएको बताउनुभयो । नियमित लाग्ने बजारमा चहलपहल घटेको र सर्वसाधारणलाई आवतजावत गर्नसमेत समस्या भएको उहाँको भनाइ छ । 

वर्षाका कारण बजार तथा ग्रामीण सडकमा सर्वसाधारणको आवागमन घटेको छ । दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, किसान, व्यापारी तथा सर्वसाधारण बढी प्रभावित भएका छन् । वर्षा निरन्तर भइरहे धानबाली भित्र्याउने काममा थप ढिलाइ हुने र पशु चौपायाका लागि आहारको अभाव हुन सक्ने स्थानीयको चिन्ता छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button