तपाईँ सुन्दै हुनुहुन्छः

निर्णय कार्यान्वयन नगरेपछि तीन स्थानीय तहको आर्थिक अधिकार रद्द

काठमाडौँ । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन पालिकाका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको छ । मन्त्रालयले जुम्लाको कनकासुन्दरी गाउँपालिका, पर्साको जिराभवानी गाउँपालिका र काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाको खाता रोक्का गरेको हो । 

मन्त्री प्रतिभा रावलको सचिवालयका अनुसार पालिकामा कार्यरत कर्मचारीको अन्यत्र सरुवा गरिएको थियो । तर, सरुवा भएको निकायमा हाजिर नगरी उनीहरू सोही पालिकामा कार्यरत रहँदै आएका थिए । यसैबीच, नयाँ खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई समेत पालिकाले हाजिर गराएको थिएन ।

सरुवा भएर पनि साबिककै कार्यालयमा कार्यरत रहेको तथा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराइएको विषयमा मन्त्रालयले पालिकाको आर्थिक जिम्मेवारी रद्द गरेको हो । मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका कर्मचारीलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारीसहित तत्काल कामकाजमा लगाउन निर्देशन दिएको छ । मन्त्रालयले पालिकाको आर्थिक जिम्मेवारी रद्द गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालयलाई जानकारी गराउँदै खाता सञ्चालनको आवश्यक व्यवस्था मिलाउनसमेत मन्त्रालयले आग्रह गरेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button