विपद्को सूचना प्रवाह र स्थलगत रिपोर्टिङका अनुभव संसदीय विशेष समितिमा

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको विपद्सम्बन्धी विशेष समितिले आज पत्रकारहरूसँग भोटेकोशी बाढीको सूचना प्रवाहमा सञ्चारमाध्यमको भूमिका तथा प्रभावित क्षेत्रको वास्तविक अवस्थाबारे छलफल गरेको छ ।
छलफलमा रसुवाकी पत्रकार गीता न्यौपाने र नुवाकोटका पत्रकार श्रीराम अधिकारीले भोटेकोशी बाढीका बेला स्थानीय सञ्चारमाध्यमले निरन्तर सूचना सम्प्रेषण गर्दै प्रभावित क्षेत्रका नागरिकको आवाज सम्बन्धित निकायसम्म पु¥याएको अनुभव सुनाउनुभयो ।
उहाँहरूले बाढीका बेला सूचना सङ्कलन तथा सम्प्रेषणमा स्थानीय पत्रकारले निर्वाह गरेको भूमिका र विपद्का समयमा भोग्नुपरेका चुनौतीबारे सुनाउँदै विपद्का सूचना दिन स्थानीय सञ्चार माध्यम सबैभन्दा उपयुक्त हुने बताउनुभयो ।
त्यसैगरी बीबीसीका पत्रकार जितेन्द्र राउतले भोटेकोशी बाढीको घटनालाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउन बिबिसीले प्रभावित क्षेत्रमा स्थलगत रिपोर्टिङ गरेको अनुभव सुनाउनुभयो । उहाँले विपद्को वास्तविक अवस्था विश्वसामु पुर्याउन स्थलगत पत्रकारिताको महत्त्वबारे धारणा राख्नुभयो ।छलफलमा संसदीय मामिला पत्रकार समाजका अध्यक्ष मनोज सत्यालले विपद्को पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
छलफलमा सहभागी पत्रकारहरूले विपद्का समयमा सूचना सम्प्रेषणको प्रभावकारिता, स्थानीय पत्रकारको भूमिका, प्रभावित नागरिकका समस्या उजागर गर्ने सञ्चारमाध्यमको जिम्मेवारी तथा विपद् व्यवस्थापनमा सञ्चार क्षेत्र र राज्यका निकायबीचको समन्वयका विषयमा विचार व्यक्त गरेका थिए ।
भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रको वास्तविक अवस्था, क्षति, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका विषयमा अध्ययन गरिरहेको समितिले विभिन्न क्षेत्रका सरोकारवालासँग छलफललाई निरन्तरता दिँदै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्