तपाईँ सुन्दै हुनुहुन्छः

इथियोपियामा ड्रोन आक्रमण, बालबालिकासहित १४ जनाको मृत्यु

अदिस अबाबा । इथियोपियाको अम्हारा क्षेत्रमा विस्थापित व्यक्तिहरू बस्दै आएको शिविरमा बिहीबार भएका चारवटा ड्रोन आक्रमणमा बालबालिकासहित कम्तीमा १४ जनाको मृत्यु भएको छ । घटनाका तीन प्रत्यक्षदर्शीले शुक्रबार एएफपीलाई दिएको जानकारीअनुसार आक्रमणमा गर्भवतीसमेत मारिएका छन् ।

नाम गोप्य राख्न अनुरोध गरेका एक प्रत्यक्षदर्शीका अनुसार शिविरमा एकपछि अर्को गरी चारवटा ड्रोन आक्रमण भएका थिए । उहाँका अनुसार शिविरमा १४ जनाको शव गाडिएको थियो भने उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको थियो ।

शिविरका अन्य दुई बासिन्दाले पनि बालबालिकासहित क्रमशः १४ र १५ जनाको मृत्यु भएको जानकारी दिएका छन् । उनीहरूमध्ये एक जनाले शव गाड्न सहयोग गर्नुभएको थियो ।

अदिस अबाबाबाट करिब ४०० किलोमिटर उत्तरपूर्वमा रहेको शिविरमा विद्यार्थीहरू विद्यालयबाट घर फर्किरहेका बेला आक्रमण भएको प्रत्यक्षदर्शी अहमदले बताउनुभयो । उहाँले आफ्नी बहिनीको मृत्यु भएको र शरीर टुक्राटुक्रा भएकाले शवसमेत फेला पार्न नसकेको बताउनुभयो ।

सशस्त्र द्वन्द्वसम्बन्धी तथ्याङ्क सङ्कलन तथा विश्लेषण गर्ने संस्था एकल्डले घटनामा १६ देखि २३ जनासम्म मारिएको र अज्ञात सङ्ख्यामा मानिस घाइते भएको जनाएको छ । संस्थाले मृतकमा बालबालिका परे–नपरेको भने खुलाएको छैन ।

संयुक्त राष्ट्रसङ्घले जुलाईमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार इथियोपियाको दोस्रो बढी जनसङ्ख्या भएको अम्हारा क्षेत्रमा दुई करोडभन्दा बढी मानिस बसोबास गर्छन् । यस क्षेत्रमा सङ्घीय सेनाले बारम्बार ड्रोन आक्रमण गर्दै आएको छ र द्वन्द्वका कारण करिब पाँच लाख मानिस विस्थापित भएका छन् । घटनाबारे एएफपीले सोध्दा इथियोपियाली सङ्घीय सेनाका प्रवक्ताले तत्काल कुनै प्रतिक्रिया दिनुभएको छैन ।

प्रत्यक्षदर्शीका अनुसार शिविरमा आश्रय लिइरहेका विस्थापितहरू अम्हारासँगै जोडिएको र इथियोपियाको सबैभन्दा बढी जनसङ्ख्या भएको ओरोमिया क्षेत्रका हुन् । राजधानी अदिस अबाबाले आतङ्कवादी सङ्गठन घोषणा गरेको ओरोमो लिबरेसन आर्मी (ओएलए) ले आठ वर्षभन्दा बढी समयदेखि यस क्षेत्रमा सङ्घीय सेनाविरुद्ध सशस्त्र सङ्घर्ष गर्दै आएको छ । रासस/एएफपी 

प्रतिक्रिया राख्नुहोस्

Back to top button